काठमाडौ,६ साउन। दोलखामा बाढीमा फसेका चारजनाको उद्धार गरिएको छ । जिल्लाको गौरीशंकर गाउँपालिका–९ मा आएको बाढीमा फसेका चार जनाको सकुशल उद्धार गरिएको हो भने एक जना अझै बेपत्ता रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बाढीका कारण जोखिमपूर्ण स्थानमा अड्किएका चार जनालाई आज बिहान स्थानीयको पहलमा उद्धार गरिएको हो। उद्धार गरिएका व्यक्तिहरू सिप्रिङ खोला जलविद्युत केन्द्रमा कार्यरत कर्मचारी सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ रहेका छन्।
प्रमुख डीएसपी मनोज लामाका अनुसार गएराति आएको बाढीले ७३ वर्षीय चसमान तामाङलाई बगाएको छ। उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
बाढीका कारण सिप्रिङ खोला जलविद्युत केन्द्रको ड्याम साइडमा क्षति पुगेको छ भने खोलाले दुवैतर्फको जमिन कटानसमेत गरेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस