after_navbar

३० हजार टन युरिया मल कोलकाता आइपुग्यो


१८ घण्टा अगाडि


काठमाडौ,६ साउन। नेपालका लागि ३० हजार टन युरिया मल बोकेको तेस्रो पानीजहाज भारतको कोलकाता बन्दरगाहमा आइपुगेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार निरन्तर वर्षाका कारण भारततर्फ मालवाहक रेल सञ्चालन प्रभावित हुँदा सोमबार नेपाल आइपुग्नुपर्ने १ हजार २५० टन युरिया मल अब बुधबार आइपुग्ने भएको छ। साथै २ हजार ५०० टन डीएपी मल बोकेको अर्को रेल पनि सोही दिन नेपाल आउने अपेक्षा गरिएको छ।

मन्त्रालयका अनुसार कोलकाताबाट ट्रकमार्फत ३०० टन मल विराटनगर र ४५० टन भैरहवाका लागि पठाइएको छ। बाँकी मल पनि चरणबद्ध रूपमा नेपाल ल्याई आवश्यकताअनुसार देशभर वितरण गरिने जनाइएको छ।

सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३४ अर्बभन्दा बढी बजेट विनियोजन गर्दै ६ लाख टन अनुदानित रासायनिक मल खरिद गर्ने लक्ष्य राखेको थियो। जसमध्ये हालसम्म ४ लाख ९१ हजार टन मल खरिद प्रक्रिया सम्पन्न भइसकेको छ।

मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ५ लाख ६१ हजार टनभन्दा बढी मल आपूर्ति भइसकेको छ भने कुल ६ लाख १० हजार टनभन्दा बढी मल कृषकलाई वितरण गरिएको छ। अहिले सरकारी गोदामहरूमा ७४ हजार टनभन्दा बढी रासायनिक मल मौज्दात रहेको छ।मन्त्रालयले आवश्यक मलको आपूर्ति नियमित रूपमा भइरहेकाले अभाव हुन नदिने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="