दाङ,२१ साउन । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा यसअघि गरेको फैसला पुनरवलोकन गर्न अनुमति (निस्सा) दिएको छ। बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा सहित न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले सुनुवाइका लागि निस्सा प्रदान गर्ने आदेश दिएको हो।
यस आदेशसँगै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने अघिल्लो फैसलामाथि पुनः सुरुदेखि सुनुवाइ हुने भएको छ। कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसलामा कानुनी त्रुटि रहेको दाबी गर्दै पुनरवलोकन निवेदन दिएका थिए।
सर्वोच्चबाट अघिल्लो फैसलाको पूर्णपाठ प्राप्त भएपछि देउवाले साउन ६ गते (वारिसमार्फत ७ गते) र खड्काले साउन १२ गते छुट्टाछुट्टै निवेदन दर्ता गराएका हुन्। निवेदनमा अघिल्लो आदेश स्थापित नजिर, कानुनी सिद्धान्त तथा प्रचलित कानुनविपरीत रहेको दाबी गरिएको छ।
यसअघि वैशाख ४ गते न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौला को इजलासले विशेष महाधिवेशनबाट चुनिएको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोग को निर्णय सदर गर्दै देउवा पक्षको रिट खारेज गरेको थियो।
अब पुनरवलोकनको अनुमति दिने इजलासबाहेक अन्य न्यायाधीश सम्मिलित इजलासले यो विवाद पुनः सुरुदेखि सुनुवाइ गर्नेछ। पुनः सुनुवाइमा अघिल्लो फैसला सदर भएमा विशेष महाधिवेशन र थापा नेतृत्वले वैधानिकता पाउनेछ भने फैसला उल्टिएमा देउवा पक्षको दाबी कायम हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस