after_navbar

मनसुन विपद् न्यूनीकरणसम्बन्धि सचेतना बढाउन मुख्यमन्त्रीको निर्देशन


३ मिनेट अगाडि


दाङ,२१ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्का कारण बढ्दो मानवीय तथा भौतिक क्षति रोक्न सचेतना अभियान तीव्र बनाउन निर्देशन दिएका छन्।

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद् को १४औँ बैठकमा बोल्दै उनले पूर्वतयारी, जनचेतना र निकायबीच समन्वय प्रभावकारी बनाउन जोड दिएका हुन् ।

बैठकमा जोखिमयुक्त जलाशय र सिँचाइ नहर वरिपरि तारबार गर्ने, पोखरी तथा ड्याममा चेतावनी बोर्ड राख्ने, बालबालिकालाई जोखिमपूर्ण स्थानमा जान नदिन अभिभावकलाई सचेत गराउने र किसानलाई चट्याङ तथा भारी वर्षाबाट जोगिने उपायबारे जानकारी दिने योजना प्रस्तुत गरिएको छ।

पछिल्ला दुई महिनामा मात्र लुम्बिनी प्रदेश मा ७२ वटा विपद्का घटना हुँदा ५२ जनाको मृत्यु, १० जना घाइते र एक जना बेपत्ता भएका छन्। तीमध्ये अधिकांशको ज्यान पानीमा डुबेर गएको तथ्यांक छ।

बैठकले विपद् व्यवस्थापन प्रभावकारी बनाउन सुरक्षा निकाय, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी लगायतलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। साथै राहत सामग्री सुरक्षित भण्डारण गर्ने र खोज तथा उद्धारका लागि आवश्यक सवारी साधन व्यवस्थापन गर्न बजेट उपलब्ध गराउने निर्णय पनि गरिएको छ।

यसैगरी, विपद्मा ज्यान गुमाउनेका परिवारलाई राहत वितरण प्रक्रिया सहज बनाउन सम्बन्धित निर्देशिका संशोधन गर्ने सिफारिससमेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="