काठमाडौ,२२ साउन। नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन सुरु गर्ने भएको छ। सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन तथा विद्यालय शिक्षामा सुधारका लागि महासंघले पुनः आन्दोलन गर्ने निर्णय गरेको छ।
साउन १६ र १७ गते काठमाडौँमा सम्पन्न महासङ्घको तेस्रो राष्ट्रिय परिषद्को निर्णय सार्वजनिक गर्दै अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न, शिक्षामा लगानी वृद्धि गर्न तथा विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारिएको जानकारी दिए।
महासङ्घका अनुसार आर्थिक वर्ष २०८३/०८४ को बजेटमा प्रारम्भिक बाल कक्षा शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदानका शिक्षकलाई तलब वृद्धि, प्रोत्साहन तथा महँगी भत्ता नदिइएको भन्दै विभेद भएको उल्लेख गरिएको छ। ती सबैलाई समान सुविधा उपलब्ध गराउन र स्थायी दरबन्दी सिर्जना गर्न माग गरिएको छ।
त्यस्तै शिक्षकहरूलाई निजामती कर्मचारीसरह दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने माग पनि महासङ्घले राखेको छ।
अध्यक्ष सुवेदी र महासचिव तुलाबहादुर थापाले सरकार मागप्रति उदासीन भए भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
यसअघि शिक्षकहरूले २०८१ चैत २० देखि २०८२ वैशाख १७ सम्म काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए।
प्रतिक्रिया दिनुहोस