रुकुम पूर्व, २६ साउन । रुकुम पूर्वबाट कस्तुरीको बिनासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-११ का ३८ वर्षीय मिलन केसी र रुकुम पूर्वको सिस्ने गाउँपालिका-१ पाखापानीका २५ वर्षीय टकल बुढा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर विकका अनुसार रुकुमकोटबाट पश्चिम रुकुमतर्फ जाँदै गरेको रा ४ प ९७०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट २ ग्राम ६४० मिलिग्राम कस्तुरीको बिना बरामद भएको हो।
अस्थायी प्रहरी पोष्ट खोपीचारबाट प्रहरी नायब निरीक्षक जीवन केसीको कमान्डमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो करिब साढे ४ बजे मध्यपहाडी लोकमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस