दाङ,३१ साउन । दाङको लमहीमा डेंगु रोगको रोकथाम तथा बच्ने उपायबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी जुनियर युवा रेडक्रस जिल्ला समिति दाङको आयोजनामा देउखुरी क्षेत्रमा गठन भएका जुनियर रेडक्रस सर्कलका शिक्षक नायक तथा स्वयंसेवकका लागि कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा लमही, राजपुर, गढवा र राप्ती गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका ३० जना शिक्षक नायक तथा स्वयंसेवकको सहभागिता रहेको थियो।
तालिममा तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसी र लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मीना भुसालले डेंगु रोग लाग्ने कारण, यसबाट बच्ने उपाय, नेपाल सरकारको डेंगु नियन्त्रण रणनीति तथा नागरिकको भूमिकाबारे जानकारी दिएका थिए। साथै दाङसहित नेपालमा डेंगुको अवस्थाबारे पनि जानकारी दिइएको थियो।
जुनियर युवा रेडक्रस दाङका संयोजक भीमलाल मरासिनीको अध्यक्षता तथा रेडक्रस दाङका मन्त्री प्रकाश श्रीबन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन रेडक्रस दाङका कार्यालय प्रमुख विश्राम अधिकारीले गरेका थिए।
प्रतिक्रिया दिनुहोस