दाङ, ४ भदौ । दाङ प्रहरीले जिल्लाका विभिन्न जंगल तथा सामुदायिक वनमा लुकाइछिपाइ राखिएका ३७ नाल अवैध भरुवा बन्दुक फेला पारेको छ।
विशेष सूचनाका आधारमा भदौ १ देखि ४ गतेसम्म सञ्चालन गरिएको विशेष अभियानका क्रममा प्रहरीले विभिन्न स्थानबाट बन्दुक फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जंगलका झाडी, ओडार तथा अन्य स्थानमा लुकाएर राखिएका अवस्थामा बन्दुक फेला परेका हुन्।
प्रहरीका अनुसार शान्तिनगर गाउँपालिका-३ को भित्रीखोला सामुदायिक वनबाट दुई नाल, बंगलाचुली गाउँपालिकाका विभिन्न स्थानबाट १४ नाल, लमही नगरपालिका-७ बन्नौस्थित स्वर्गद्वारी सामुदायिक वनबाट नौ नाल तथा लमही-१ सुन्डबरी सामुदायिक वनबाट चार नाल बन्दुक फेला परेका छन्।
त्यस्तै तुलसीपुरका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनबाट पाँच नाल, बबई गाउँपालिकाका विभिन्न स्थानबाट दुई नाल र घोराही उपमहानगरपालिका-१९ बाम्लास्थित पालुङ सामुदायिक वनबाट एक नाल बन्दुक फेला पारिएको प्रहरीले जनाएको छ।
प्रहरीका विभिन्न युनिटबाट परिचालित टोलीले ती बन्दुक फेला परेको गरेको हो। फेला परेका भरुवा बन्दुक कसले र के प्रयोजनका लागि जंगलमा लुकाएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रतिक्रिया दिनुहोस