जाजरकोट,७ भदौ। जाजरकोटमा बाढीपहिरोबाट विस्थापित परिवारलाई सुरक्षित स्थानका रूपमा विद्यालयमा राखिएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। घरबारी बगाएर विस्थापित भएका परिवारलाई अस्थायी आश्रयस्थलका रूपमा विद्यालयमा राख्दा केही विद्यालयको नियमित पठनपाठन रोकिएको हो।
जाजरकोटमा गत साउन २९ गते आएको अविरल वर्षासँगैको पहिरोमा परी भेरी नगरपालिका-२, रिसाङमा चार जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए। पहिरोबाट विस्थापित परिवारलाई केही समयका लागि त्रिभुवन आधारभूत विद्यालय रिसाङ, विष्णु प्राथमिक विद्यालय दारनेटा र नरज्योति प्राथमिक विद्यालय कल्याणपुरमा राखिएको छ। पीडितलाई विद्यालयमा राखिएपछि ती विद्यालयका विद्यार्थीको पठनपाठन प्रभावित भएको हो।
भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले तत्काल अन्य विकल्प नभएपछि विद्यालयलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपरेको बताए। उनका अनुसार नजिकका बस्तीसमेत पहिरोको जोखिममा रहेकाले सुरक्षित स्थानका रूपमा विद्यालय प्रयोग गरिएको हो।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले कुनै पनि बस्ती पहिरोबाट पूर्ण रूपमा सुरक्षित नरहेकाले तत्कालका लागि पीडितलाई विद्यालयमा राखिएको बताए।
भेरी नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख प्रमोद विष्टले केही समय पठनपाठन अवरुद्ध भए पनि आगामी सातादेखि विद्यालयमा नियमित कक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताए।
भेरी नगरपालिका–१, २, ३ र ४ नम्बर वडामा गएको बाढीपहिरोबाट करिब चार सय घरपरिवार विस्थापित भएका थिए। बाढीपहिरोको त्रासका कारण गाउँमा अझै पनि सामान्य पठनपाठनको वातावरण बन्न नसकेको स्थानीयको भनाइ छ।
त्रिभुवन आधारभूत विद्यालय रिसाङका प्रधानाध्यापक कर्णबहादुर शाहीले पीडित परिवार तथा विद्यार्थीलाई केही दिन सामाजिक तथा मनोसामाजिक परामर्श दिएपछि मात्रै नियमित पठनपाठनमा फर्काउनुपर्ने बताए।
तस्बिर : सहदेव बस्नेत
प्रतिक्रिया दिनुहोस