काठमाडौ,१२ भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीमा फसेका ३ हजार २५३ जनाको उद्धार गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
बाढीमा घाइते भई उद्धार गरेर काठमाडौं ल्याइएकामध्ये ५९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र काठमाडौंका अनुसार उपचारका लागि काठमाडौं ल्याइएका ८८ घाइतेमध्ये २९ जना उपचारपछि डिस्चार्ज भएर फर्किएका छन्।
शिक्षण अस्पताल महाराजगञ्जमा तीन जना घाइतेको उपचार भइरहेको छ भने ११ जना डिस्चार्ज भएका छन्। राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका ३१ जनामध्ये १२ जना उपचारपछि घर फर्किएका छन्। वीर अस्पतालमा भर्ना भएका ६ जनामध्ये पाँच जना डिस्चार्ज भएका छन्।
त्यस्तै, मनमोहन अस्पतालमा दुई जना, ग्रीनसिटी अस्पतालमा एक जना, नर्भिक अस्पतालमा दुई जना, मनमैजु शुभम् अस्पतालमा एक जना र नेपाल मेडिकल कलेजमा एक जना घाइतेको उपचार भइरहेको छ।
प्राधिकरणका अनुसार बाढीपछि ९७७ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस