काठमाडौ,१२ भदौ ।चीन-नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा सञ्चालन गरिरहेको खोज तथा उद्धार अभियान अस्थायी रूपमा रोकेको छ।
सरकारी सञ्चारमाध्यमका अनुसार पहिरोपछि बनेको विशाल तालको पानी उद्धार टोली परिचालित क्षेत्रमा फैलिन थालेपछि टोलीलाई तत्काल उद्धार रोक्दै सुरक्षित स्थानमा फर्किन निर्देशन दिइएको हो। प्रभावित क्षेत्रमा पुगेका आपत्कालीन उद्धार टोलीलाई समेत करिब एक किलोमिटर पछाडि हटाइएको छ।
बुधबार तिब्बतको सीमावर्ती केन्द्र ग्यिरोङमा माटो र भग्नावशेष खसेपछि नदी थुनिएर ठूलो ताल बनेको थियो। लगातार वर्षाका कारण आगामी तीन दिनमा तालको जलस्तर थप बढ्न सक्ने अनुमान गरिएको छ।
जलस्तर बढ्दै जाँदा तालमा दरार पर्न सक्ने र त्यसबाट तल्लो तटीय क्षेत्रमा बाढी आउँदा ग्यिरोङ बन्दरगाहलगायत क्षेत्रमा थप क्षति हुन सक्ने जोखिम रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
शुक्रबारसम्म विपद् प्रभावित क्षेत्रबाट ४९९ चिनियाँ र ५५५ विदेशी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।
उद्धारकर्मीले ड्रोनबाट तयार गरिएको थ्रीडी मोडल, तापीय तस्बिर प्रविधि तथा म्यानुअल खोजीमार्फत बेपत्ताको खोजी गरिरहेका छन्। आपत्कालीन इन्जिनियरिङ टोलीले तालको अवस्थालाई समेत नजिकबाट निगरानी गरिरहेको छ।
बाढीको जोखिम कम भएपछि खोज तथा उद्धार अभियान पुनः सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस