काठमाडौ,१२ भदौ । भोटेकोशी नदी तथा नेपाल-चीन सीमा क्षेत्रमा भएको विपद्बाट प्रभावितका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने भएका छन्।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब विपद् प्रभावितका लागि कोषमा जम्मा गर्ने जानकारी दिनुभएको हो।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘भदौ १० गते नेपाल-चीन सिमाना एवं भोटेकोशी नदीमा भएको विपद्का प्रभावितका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने।’
निर्णयसँगै भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री र मन्त्रीहरूका तर्फबाट समेत आर्थिक योगदान हुने भएको छ।
प्रतिक्रिया दिनुहोस