दाङ । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारको राहतका लागि तुलसीपुर चेम्बर अफ कमर्सले ५१ हजार १५१ रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीका अनुसार बाढीपीडितको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको हो ।
प्राकृतिक विपत्तिका कारण नागरिकहरू समस्यामा परेको समयमा सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्ने अध्यक्ष भण्डारीले बताए । “समस्या परेको समयमा पीडितको साथमा उभिनु सबैको सामाजिक दायित्व हो,” उनले भने ।
तुलसीपुर चेम्बर अफ कमर्सले विगतदेखि नै विभिन्न प्राकृतिक विपत्ति तथा समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगका कार्यलाई निरन्तरता दिने अध्यक्ष भण्डारीले बताए ।
चेम्बरले गरेको सहयोगले बाढीपीडितको राहत तथा उद्धारमा केही भए पनि योगदान पुग्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस