जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डको नलगाड नगरपालिका-८ मालुमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
शनिबार बिहान ११:१५ बजे रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ राडीबाट नलगाड-१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र. ०१-००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेको हो।
दुर्घटनामा नलगाड-१२ का ५५ वर्षीय रमेश विक र नलगाड-९ घरङ्गाका १७ वर्षीय सन्तोष विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए। गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि नगर अस्पताल दल्ली पुर्याइएकोमा चिकित्सकले शनिबार दिउँसो १२:२० बजे मृत घोषणा गरेका थिए।
दुर्घटनामा नलगाड-२ डाँडगाउँका ३५ वर्षीय प्रेम परियार, नलगाड-३ कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक आठबिसकोट-११ चौरका २२ वर्षीय करण परियार घाइते भएका छन्। तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
प्रतिक्रिया दिनुहोस