after_navbar

लुम्बिनीमा कक्षा ४ का बालबालिकाको सिकाइ उपलब्धि कमजोर


३ घण्टा अगाडि


दाङ,२१ भदौ । लुम्बिनी प्रदेशमा कक्षा ४ का बालबालिकाको सिकाइ उपलब्धि कमजोर देखिएको छ। असर नेपालले प्रदेशका ३२ स्थानीय तहका ३४ गणना क्षेत्रमा ६ सय ८० घरपरिवारमा गरेको अध्ययनले बालबालिकाको गणित तथा पठन सीप अपेक्षाकृत कमजोर रहेको देखाएको हो।

५ देखि १६ वर्ष उमेर समूहका बालबालिकालाई घरमै पुगेर सरल मौखिक परीक्षणमार्फत गणित र पठन सीपको मूल्याङ्कन गरिएको थियो। अध्ययनअनुसार कक्षा ४ का ५९ दशमलव ९१ प्रतिशत बालबालिकाले गणितमा न्यूनतम दक्षता हासिल गरेका छन् भने भाषामा यस्तो दक्षता हासिल गर्ने बालबालिकाको संख्या ३६ दशमलव ८४ प्रतिशत छ।

गणित र भाषामा दुवै विषयमा न्यूनतम दक्षता हासिल गर्ने बालबालिका भने २९ दशमलव ३६ प्रतिशत मात्रै छन्।

प्रतिवेदनअनुसार राष्ट्रिय स्तरमा कक्षा ४ का ५४ दशमलव ८ प्रतिशत बालबालिकाले गणितमा, ३५ दशमलव १३ प्रतिशतले भाषामा र २८ दशमलव ४ प्रतिशतले दुवै विषयमा न्यूनतम दक्षता हासिल गरेका छन्।

लुम्बिनीको अवस्था राष्ट्रिय औसतभन्दा केही राम्रो देखिए पनि समग्र सिकाइ उपलब्धि सन्तोषजनक नरहेको अध्ययनले देखाएको छ।

प्रतिवेदनले बालबालिकाको सिकाइ कमजोर हुनुमा प्रारम्भिक सिकाइमा हुने ढिलाइसँगै घरको सिकाइ वातावरण, पुस्तकमा पहुँच, ग्रामीण तथा सहरी क्षेत्रबीचको अन्तर र घरमा बोलिने भाषालगायतका विषयले समेत प्रभाव पार्ने देखाएको छ।

विद्यालयमा भर्ना हुनु मात्रै पर्याप्त नभएको भन्दै प्रतिवेदनले कक्षाअनुसार बालबालिकाको सिकाइ उपलब्धि नियमित रूपमा मापन गर्नुपर्नेमा जोड दिएको छ।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले विद्यालय भर्नादर बढ्दै गए पनि बालबालिकाको सिकाइ उपलब्धि कमजोर हुनु चुनौतीपूर्ण विषय भएको बताए।

प्रतिक्रिया दिनुहोस

data-href="