after_navbar

टरिगाउँ विमानस्थलबाट अब सातामा चार उडान हुने


८ मिनेट अगाडि


दाङ,२६ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका-१२ स्थित टरिगाउँ विमानस्थलबाट अब सातामा चार दिन नियमित हवाई सेवा सञ्चालन हुने भएको छ।

डेढ महिनापछि बिहीबार काठमाडौं-दाङ उडान पुनः सञ्चालन भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण दाङले सातामा चार दिन उडान हुने जनाएको हो। प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुषालका अनुसार अब आइतबार, मंगलबार, बिहीबार र शुक्रबार काठमाडौं-दाङ हवाई सेवा सञ्चालन हुनेछ।

बिहीबार नेपाल वायुसेवाको १९ सिटे जहाज काठमाडौं हुँदै दाङ अवतरण गरेको थियो। उक्त जहाजमा काठमाडौं-दाङतर्फ ८ जना र दाङ-काठमाडौंर्फ ४ जना यात्रुले सेवा लिएका थिए।

भुषालका अनुसार मौसमका कारण पछिल्लो समय हवाई सेवा अनियमित भएको थियो। अब मौसमले साथ दिएमा नियमित रूपमा उडान सञ्चालन हुने उनले बताए। हवाई सेवा बिहान ९ बजेदेखि ११ बजेको बीचमा सञ्चालन हुने र हाल दाङ-काठमाडौं हवाई भाडा १२ हजार रुपैयाँ रहेको छ।

टरिगाउँ विमानस्थलको धावनमार्ग ७५० मिटर मात्रै भएकाले हाल १९ सिटे जहाज मात्र सञ्चालन गर्न सक्ने अवस्था छ। सानो जहाज र अनियमित उडानका कारण दाङका यात्रुले काठमाडौं जान नेपालगञ्ज वा भैरहवा विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको छ।

वि.सं. २०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थल विस्तारको माग लामो समयदेखि उठ्दै आए पनि अपेक्षित रूपमा काम अघि बढ्न सकेको छैन। चालु आर्थिक वर्षमा विमानस्थल स्तरोन्नतिका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="