दाङ। मौसमविद्हरूले नेपालमा आगामी साता भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
महाशाखाका अनुसार हाल उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा न्यूनचापीय क्षेत्र बनेको छ। उक्त प्रणाली थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाको आकलन छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलले पनि विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा आगामी दिनमा भारी वर्षाको सम्भावना देखिएको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत विभिन्न फोरकास्ट मोडलको अध्ययन गर्दा धेरै वर्षाको सम्भावना देखिएको बताएका हुन्। उनका अनुसार केही मोडलले ४०० मिलिमिटरभन्दा बढी वर्षा हुने देखाएका छन्। केही मोडलले भने ७४१ मिलिमिटरसम्म वर्षा हुने प्रक्षेपण गरेका छन्।
‘मैले धेरैवटा फोरकास्ट मोडल हेर्दा धेरै वर्षाको सम्भावना बढी देखिन्छ। ४०० मिलिमिटरभन्दा धेरै पानी पर्ने ९७४१ सम्म देखाएको छ०, यो भनेको एकदम धेरै हो। नेपालको धेरै ठाउँ अथवा केही ठाउँमा मात्र पनि पर्न सक्छ, तर यसले ल्याउन सक्ने अवस्था गम्भीर हुन सक्छ,’ पोखरेलले भनेका छन्।
असोज ८ देखि १२ गतेसम्म बंगालको खाडीबाट विकसित हुने प्रणालीको प्रभाव नेपालमा बढ्ने र त्यसको पश्चिमी वायुमण्डलीय प्रणालीसँग अन्तरक्रिया हुने सम्भावना देखिएको छ। यी प्रणालीका कारण नेपालतर्फ पर्याप्त जलवाष्प भित्रिँदा देशका विभिन्न भूभागमा भारी वर्षा हुन सक्ने मौसमविद्हरूको आकलन छ।
विशेषगरी बंगालको खाडीबाट विकसित प्रणाली र पश्चिमी वायुमण्डलीय प्रणालीबीचको अन्तरक्रिया बलियो भएमा वर्षाको मात्रा थप बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस