सिमरा । बाराको सिमरामा चक्कु प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले आयुष राईलाई पक्राउ गरेको छ। घटनालगत्तै फरार भएका २३ वर्षीय राईलाई प्रहरीले जितपुरसिमरा-१६, महेन्द्रनगरस्थित डाँडाटोलको धानखेतमा लुकेर बसेको अवस्थामा शनिबार राति नियन्त्रणमा लिएको हो।
सिमरास्थित नेपाल केबुल अगाडि रहेको सम्झना स्टाफ होटलमा बसिरहेका ३५ वर्षीय शेरबहादुर खड्कालाई होटलको भान्छामा रहेको चक्कुले घाँटीमा प्रहार गरी राई फरार भएको प्रहरीले जनाएको छ। घटनाको करिब पाँच घण्टापछि प्रहरीले राईलाई धानखेतमा आफ्नै कपडाले मुख छोपेर लुकेको अवस्थामा पक्राउ गरेको हो।
घटनापछि राई पश्चिमतर्फको जंगल हुँदै राजमार्ग निस्किएर जितपुरसिमरा-१६ स्थित महेन्द्रनगर पुगेको सूचना प्रहरीले पाएको थियो। उनले आफन्तसँग गाडीभाडा लिएर महेन्द्रनगर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
महेन्द्रनगरस्थित आफन्तको घरमा राई लुकेर बसेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक ९डीएसपी० दयाकृष्ण भट्टको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी आएको थाहा पाएपछि राई उक्त घरबाट भागेर नजिकै रहेको अर्का आफन्तको घरमा पुगेका थिए। त्यहाँ पनि प्रहरी पुगेपछि उनी नजिकैको धानखेतमा लुकेका थिए।
प्रहरीले धानखेतलाई घेरा हालेर राईलाई नियन्त्रणमा लिएको हो। राईलाई लुकाउन तथा भगाउन सहयोग गरेको आरोपमा एक आफन्तलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
यसअघि प्रहरीले शनिबार साँझ नै राईसँगै होटलमा आएका दुई युवकलाई समेत नियन्त्रणमा लिएको थियो। घाइते खड्कालाई उपचारका लागि गण्डकस्थित बयोधा अस्पताल लैजाने क्रममा उनीहरूलाई अस्पतालबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार खड्का होटलमा बसिरहेका बेला मदिरा सेवन गरेका राईसहित तीनजना युवक होटलमा प्रवेश गरेका थिए। उनीहरूबीच के विषयमा विवाद भएको थियो भन्ने खुलेको छैन। होटल सञ्चालकले पनि विवादको कारणबारे आफूलाई जानकारी नभएको बताएका छन्।
विवादका क्रममा राईले होटलको भान्छाबाट चक्कु ल्याएर खड्काको घाँटीमा प्रहार गरेको र त्यसपछि फरार भएको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि होटल सञ्चालकलाई समेत नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनामा संलग्नता तथा अनुसन्धानका क्रममा हालसम्म पाँच जनालाई नियन्त्रणमा लिइएको छ।
प्रतिक्रिया दिनुहोस