after_navbar

स्वास्थ्य समीक्षापछि देउखुरी घोषणापत्र जारी


असोज २०, २०८३


दाङ। लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य सेवा सुधार, आयुर्वेद औषधि उत्पादनदेखि विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली विस्तारसम्मका १३ प्रतिबद्धतासहित देउखुरी घोषणापत्र जारी गरेको छ।

स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा सम्पन्न गरेपछि घोषणापत्र जारी गरिएको हो। समीक्षा उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा थप सुधार आवश्यक रहेको भन्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए।

घोषणापत्रमा स्थानीय जडीबुटीको संरक्षण तथा उपयोग गर्दै आयुर्वेद औषधि उत्पादन केन्द्र स्थापना गर्ने, अस्पतालको सेवा गुणस्तर सुधार गर्ने र जैविक-चिकित्सकीय उपकरणको परीक्षण तथा मर्मत प्रणालीलाई प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको छ।

प्रदेश मातहतका अस्पताल तथा आयुर्वेद चिकित्सालयमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली लागू गर्ने, स्थानीय तहका स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना प्रणाली विस्तार गर्ने तथा तथ्यमा आधारित स्वास्थ्य नीति र योजना निर्माणलाई प्राथमिकता दिने घोषणा गरिएको छ।

सुरक्षित मातृत्व तथा बाल स्वास्थ्य, पोषण, नसर्ने रोग र मानसिक स्वास्थ्यको रोकथाम तथा उपचारलाई सुदृढ बनाउने घोषणापत्रमा उल्लेख छ। कपिलवस्तु, बाँके र बर्दियालाई आरोग्य तथा स्वास्थ्य पर्यटनका गन्तव्यका रूपमा विकास गर्ने र कपिलवस्तु आयुर्वेद चिकित्सालयलाई पञ्चकर्म, योग, ध्यान तथा पुनर्स्थापना सेवासहितको विशिष्टीकृत केन्द्र बनाउने योजना पनि समेटिएको छ।

यस्तै, स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायमा बेरुजु न्यूनीकरण, तीन तहका स्वास्थ्य संस्थाबीच प्रभावकारी बिरामी प्रेषण प्रणाली, प्रदेश अस्पताल विकास समितिको आर्थिक कार्यविधि तथा थालसेमिया, सिकलसेल र हेमोफिलियाका बिरामीको विद्युतीय अभिलेख प्रणाली स्थापना गर्ने प्रतिबद्धता गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="