दाङ। दशकौँदेखि विस्तारको चर्चा हुँदै आए पनि अपेक्षित पूर्वाधार बन्न नसकेको तुलसीपुरको टरिगाउँ विमानस्थल अब दुई वर्षभित्र विस्तार गरिसक्ने भन्दै एकपटक फेरि चर्चामा आउन थालेको छ।
विगतमा राजनीतिक नेतृत्वहरूले प्रतिबद्धता जनाए पनि त्यसलाई पूर्णता दिन सकेका थिएनन्।अहिलेका राजनीतिक नेतृत्वले पुनः यो विषयलाई चर्चामा ल्याउन थालेका छन्। ७२ वर्षसम्म पूरा नभएको सपनालाई दुई वर्षभित्र पूरा गर्ने प्रतिबद्धता समेत जनाइरहेका छन्।
त्यो प्रतिबद्धता जनाउनेमा नेपाल सरकारका पर्यटन मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन कुमार आचर्य लगाएतका रहेका छन । एयरपोर्ट क्षेत्रमै कार्यक्रम गरेर उनीहरूले दुई वर्षको समय सीमाभित्र एयरपोर्ट विस्तार गर्ने प्रतिबद्धता जनाएका हुन्।
प्रतिबद्धता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले टरिगाउँमा ७२ सिटे जहाज अवतरण गरी धावनमार्ग विस्तारको काम अघि बढाउने बताएका छन ।
बुधबार विमानस्थलको स्थलगत निरीक्षणपछि तुलसीपुरमा आयोजित खुला छलफलमा मन्त्री पौडेलले प्राविधिक अध्ययनका आधारमा विमानस्थल विस्तारको काम अघि बढाइने र दुई वर्षभित्र कम्तीमा १ हजार ४ सय मिटरको धावनमार्ग विस्तार गर्ने आश्वासन दिए । विमानस्थलको प्राविधिक अवस्था बुझ्न गर्न आफू प्राविधिक टोलीसहित आएको उनले बताए।
दाङको भौगोलिक अवस्था, आसपासका पहाडी जिल्लामा नियमित हवाई सेवा नहुनु, धार्मिक तथा पर्यटकीय गन्तव्यको सम्भावना र लुम्बिनी प्रदेशको राजधानीसमेत दाङमा रहेकाले टरिगाउँको विस्तार आवश्यक रहेको उनको भनाइ थियो।
मन्त्री पौडेलले नेपालगन्ज विमानस्थलमा कुहिरो वा अन्य कारणले उडान तथा अवतरण प्रभावित भएको अवस्थामा टरिगाउँलाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न सकिने बताए। त्यसका लागि पनि विमानस्थलको क्षमता विस्तार आवश्यक रहेको उनले उल्लेख गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा सांसद विपिनकुमार आचार्यले टरिगाउँ विमानस्थललाई कुनै राजनीतिक प्रतिष्ठाको विषय नभई तथ्य र आवश्यकताका आधारमा विकास गर्नुपर्ने बताए।
उनका अनुसार टरिगाउँ दाङको मात्र विमानस्थल नभई आसपासका जिल्लासहित करिब १७/१८ लाख जनसंख्यालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोड्ने पूर्वाधार बन्न सक्छ। विमानस्थलको विकासले यातायातको पहुँच मात्र नभई समग्र क्षेत्रको अर्थतन्त्रमा प्रभाव पार्ने उनको भनाइ छ।
मन्त्रीले दुई वर्षको समयसीमा तोकेर काम अघि बढाउने प्रतिबद्धता जनाएको उल्लेख गर्दै मन्त्रीलाई आचार्यले भने,-‘अब दुई वर्षसम्म तपाईं दाङ आउनु पर्दैन, तपाई सिधै टरिगाउँको एयरपोर्टमा ल्याण्ड गर्ने गरी उद्घाटन गर्न आउनुपर्छ।’
उनले विमानस्थल निर्माणसँगै यसको दिगो सञ्चालनको तयारीसमेत थाल्न सरोकारवाला निकायलाई आग्रह गरे। राज्यले पूर्वाधार निर्माण गरे पनि विमानस्थल सधैँ राज्यकै प्रत्यक्ष सञ्चालनमा नरहने भएकाले निजी क्षेत्र, स्थानीय तह, व्यवसायी तथा अन्य सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उनले बताए।
आचार्यले टरिगाउँ विस्तारसँगै सल्यान, रोल्पालगायत पहाडी जिल्लाबाट दाङ आउने सडकको स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
विमानस्थल मात्र विस्तार गरेर हवाई पहुँचको उद्देश्य पूरा नहुने भन्दै उनले सडक, पर्यटन, स्वास्थ्य र शैक्षिक पूर्वाधारलाई समेत जोडेर क्षेत्रीय विकासको योजना बनाउनुपर्ने बताए।। विमानस्थल, सडक र शैक्षिक तथा पर्यटकीय पूर्वाधारलाई एकीकृत रूपमा अघि बढाउन सके दाङलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न सकिने उनले बताए।
आचार्यले २०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थलले सात दशक पुग्दासमेत अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै अब भने विस्तारको काम अघि बढ्ने दाबी गरे।
यसैविच, रास्वपाका केन्द्रीय सदस्य तथा प्युठानका सांसद सुशान्त वैदिकले विगतमा घोराही र तुलसीपुरबीचको भौगोलिक राजनीतिका कारण टरिगाउँ विमानस्थल विस्तारमा ढिलाइ भएको बताए।
रास्वपाका सहप्रवक्ता तथा सांसद सुरेन्द्र चौधरीले विगतमा पटकपटक विमानस्थल विस्तारको आश्वासन पाए पनि काम हुन नसकेको भन्दै यसपटक भने परिणाम देखिनुपर्ने बताए।
सांसद कमल सुवेदीले टरिगाउँलाई नेपालगन्ज र भैरहवाको विकल्पका रूपमा विकास गर्न सकिने उल्लेख गरे ।
उनले विगतमा विमानस्थल विस्तारमा लाग्ने ठूलो खर्च देखाएर काम रोक्ने प्रयास भएको दाबी गर्दै विकासका विषयमा राजनीतिक आग्रह–पूर्वाग्रह नराख्न आग्रह गरे।
पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले प्रदेश राजधानी रहेको जिल्लामा लामो इतिहास बोकेको विमानस्थलको विस्तार आवश्यक रहेको बताए। उनका अनुसार प्राविधिक अध्ययनपछि विमानस्थल विस्तारका लागि आवश्यक जग्गा प्राप्तिमा सबै पक्षको सहयोग आवश्यक पर्नेछ।
तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख श्यानी चौधरीले टरिगाउँको विकास र विस्तारले दाङसहित आसपासका जिल्लाको विकासका लागि नयाँ ढोका खोल्ने बताइन्।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले टरिगाउँ विमानस्थल २०११ सालदेखि २०४२ सालसम्म घाँसे मैदानबाटै नियमित जहाज सेवा चलेको बताए । त्यसपछि करिब १५ वर्ष विमान सेवा अवरुद्ध भएको उनले स्मरण गरे। सेवा पुनः सञ्चालनका लागि उद्योग वाणिज्य संघले एक वर्षसम्म टिकट बिक्रीको जिम्मेवारीसमेत लिएको बताए।
विमानस्थल विस्तार भएर नियमित सेवा सञ्चालन भए राप्ती क्षेत्रका वाणिज्य संघहरू मिलेर कम्तीमा ६ महिनासम्म टिकट व्यवस्थापनको जिम्मेवारी लिन तयार रहेको बताए।
टरिगाउँ विमानस्थलको विस्तारबारे यसपटक पहिलोपटक समयसीमासहितको राजनीतिक तथा सरकारी प्रतिबद्धता सार्वजनिक भएको छ।
तर विगतमा पनि विस्तारका लागि पटकपटक घोषणा हुँदै आएका कारण अहिलेको मुख्य चासो दुई वर्षको समयसीमा व्यवहारमा कसरी कार्यान्वयन हुन्छ भन्नेमा केन्द्रित छ।
प्रतिक्रिया दिनुहोस