after_navbar

शंकास्पद गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न आग्रह


१६ घण्टा अगाडि


दाङ। चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अभिनारायण काफ्लेले अपराध रोकथाम तथा अनुसन्धानका लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना महत्वपूर्ण हुने बताए। नागरिकले दिएको सूचनाका आधारमा तत्काल प्रहरी परिचालन गरिने र सूचनाको गोपनीयता कायम गरिने प्रहरीले जनाएको छ।

आपत्कालीन अवस्थामा १०० नम्बरमा निःशुल्क फोन गर्न सकिनेछ। सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पनि २४सै घण्टा फोन उठ्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

चाडपर्वका समयमा बढ्न सक्ने डिजिटल ठगी, सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, दुष्प्रचार र डीपफेकमाथि प्रहरीले निगरानी बढाएको छ। नक्कली अनलाइन सपिङ तथा अफर, लोटरी वा गिफ्ट म्यासेज, फेक इन्भेस्टमेन्ट स्किम, मोबाइल बैंकिङ तथा डिजिटल वालेट ठगी र ओटीपी, पिन तथा पासवर्ड चोरी गर्ने फिसिङबाट सावधान रहन प्रहरीले आग्रह गरेको छ।

लामो समय घरबाहिर जाने नागरिकलाई आफ्नो घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न पनि प्रहरीले अनुरोध गरेको छ। चाडपर्वमा सुरक्षा, सहज आवागमन र शान्ति व्यवस्था कायम गर्न ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="