after_navbar

आँखाको उपचारमा हुने ढिलाइले दृष्टि गुम्ने जोखिम बढ्दो


११ घण्टा अगाडि


दाङ। आँखामा समस्या देखिएपछि तत्काल स्वास्थ्य संस्था पुगेर उपचार गराउनेभन्दा रोग जटिल भएपछि मात्रै अस्पताल जाने प्रवृत्ति अझै कायमै छ।

आँखाको समस्या सामान्य ठानेर बेवास्ता गर्ने, नियमित परीक्षण नगर्ने र चिकित्सकको सल्लाहबिना औषधि प्रयोग गर्ने बानीका कारण उपचारमा ढिलाइ हुने गरेको चिकित्सकहरूले बताएका छन्। यस्तो ढिलाइले मोतीबिन्दु, जलविन्दुलगायतका आँखाका रोगबाट दृष्टि गुम्ने जोखिम बढाएको उनीहरूको भनाइ छ।

विश्व दृष्टि दिवसको अवसरमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तारमा सञ्चारकर्मीहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेत्र विशेषज्ञ तथा चिकित्सकहरूले यस्तो बताएका हुन्।

नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालका अनुगमन तथा मूल्यांकन अधिकृत शालिकराम गौतमका अनुसार लुम्बिनी प्रदेशमा १ लाख १२ हजार ७ सय ३३ जना तत्काल आँखाको शल्यक्रिया गर्नुपर्ने अवस्थामा छन्। प्रदेशमा अन्धोपनको समस्या १.७५ प्रतिशतमा रहेको र दाङमा मात्रै १४ हजार ८ सय ७८ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए।

उनका अनुसार आँखामा समस्या देखिएपछि सुरुमै परीक्षण र उपचारमा जानुपर्ने भए पनि धेरै नागरिकले दृष्टि कमजोर भइसकेपछि मात्रै अस्पताल पुग्ने गरेका छन्।

गौतमले सन् २०१९ मा गरिएको सर्वेक्षणको तथ्यांक प्रस्तुत गर्दै ४१ प्रतिशत नागरिकले समयमै उपचार गराउनुपर्ने आवश्यकताबारे पर्याप्त बोध नगरेको बताए। अझै २० प्रतिशतमा आँखा स्वास्थ्यसम्बन्धी सचेतनाको कमी रहेको उनले बताए।

उनका अनुसार आँखाको रोग समयमै पहिचान भए उपचारबाट दृष्टि जोगाउन सकिने अवस्था भए पनि उपचारमा हुने ढिलाइ अन्धोपना न्यूनीकरणको प्रमुख चुनौतीमध्ये एक बनेको छ।

कार्यक्रमका प्रमुख अतिथि एवं राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले सरकारले आँखा स्वास्थ्यका लागि ठोस नीति तथा बजेट कार्यक्रम ल्याउन नसकेको बताए। स्वास्थ्यलाई मौलिक हकका रूपमा व्यवस्था गरिए पनि आँखा स्वास्थ्य राज्यको प्राथमिकतामा नपरेको उनको गुनासो थियो।

राप्ती आँखा अस्पतालका सहायक प्राध्यापक रञ्जितकुमार शाहले मोतीबिन्दु र जलविन्दु अन्धोपनका प्रमुख कारणमध्ये रहेको बताए। आँखाको नियमित परीक्षण र समयमै उपचारका विषयमा समुदायस्तरमै सचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ छ।

उनका अनुसार ३० जनाको आँखा परीक्षण गर्दा ५ देखि १० जनासम्ममा मोतीबिन्दुको समस्या देखिने गरेको छ। त्यसैले आँखामा समस्या देखिएपछि मात्रै नभई नियमित रूपमा परीक्षण गराउने बानी विकास गर्नुपर्ने उनले बताए।

उक्त अन्तरक्रियामा आँखाको उपचारमा पहुँच र जनचेतना दुवैलाई अन्धोपना न्यूनीकरणको महत्वपूर्ण पक्षका रूपमा उठाइएको थियो।

कार्यक्रममा आँखा स्वास्थ्य सेवा पर्याप्त रूपमा नपुगेका क्षेत्र पहिचान गरी बस्तीस्तरमै परीक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियो।

नागरिकलाई आँखाको समस्या लुकाएर नराख्ने, समयमै परीक्षण गर्ने र विशेषज्ञको सल्लाहअनुसार उपचार गर्ने वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने सहभागीहरूले बताए।

नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गौसाईंले आँखा संवेदनशील अंग भए पनि समग्र स्वास्थ्य सेवा प्रणालीमा आँखाको विषयले अपेक्षित प्राथमिकता नपाएको बताए।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, उपाध्यक्ष नारायणी रजौरे, ओपेन्द्र बस्नेतलगायतले अन्धोपना न्यूनीकरणका लागि बस्तीस्तरमा आँखा स्वास्थ्य कार्यक्रम विस्तार गर्नुपर्ने सुझाव दिए।

उनीहरूले आवश्यकता र अवस्थाअनुसार आँखा स्वास्थ्यसम्बन्धी रणनीति तथा कार्यक्रम परिमार्जन गर्दै लैजानुपर्ने बताए।

कार्यक्रम राप्ती आँखा अस्पताल रक्षाचौरका प्रशासनिक समितिका संयोजक ध्रुव गौतमको अध्यक्षता भएको थियो। वरिष्ठ प्रशासकीय अधिकृत जशराज विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थए।

प्रतिक्रिया दिनुहोस

data-href="