दाङ। यस वर्षको बडादशैँ आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दशैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी जमरा राखिँदैछ।
घटस्थापनाका दिन पूजा कोठा वा दशैँघरमा दियो, कलश र गणेश स्थापना गरी देवी दुर्गाको पूजा आराधना गरिन्छ। विधिपूर्वक बालुवा वा माटो राखेर त्यसमा जौ रोप्ने परम्परालाई जमरा राख्ने भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको शुभ साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ।
दशैँका अवसरमा असोज ३१ गते फूलपाती, कात्तिक १ गते महाअष्टमी, कात्तिक २ गते अष्टमी तिथि र कात्तिक ३ गते महानवमी परेको छ। कात्तिक ४ गते विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरी दशैँ मनाइनेछ।
दशैँ सुरु भएसँगै बजारमा किनमेल गर्ने र रोजगारी तथा अध्ययनका सिलसिलामा घरबाहिर रहेकाहरू गाउँघर फर्कने क्रम बढेको छ। नेपालीहरूको प्रमुख चाडका रूपमा मनाइने दशैँमा दुर्गा भवानीको पूजा आराधना, पारिवारिक भेटघाट र आशीर्वाद आदानप्रदान गर्ने गरिन्छ।
प्रतिक्रिया दिनुहोस