काठमाडौ। दशैँमा यात्रुको चाप व्यवस्थापन गर्न यातायात व्यवस्था विभागले आज घटस्थापनादेखि देशभर लामो तथा मध्यम दूरीका सार्वजनिक गाडीका लागि रुट परमिट खुला गरेको छ।
विभागको निर्णयअनुसार कात्तिक १० गतेसम्म रुट परमिट खुला रहनेछ। यस अवधिमा लामो तथा मध्यम दूरीका गाडीले तोकिएको व्यवस्थाअनुसार जुनसुकै जिल्लामा यात्रु लिएर जान सक्नेछन्।
दशैँमा घर जाने यात्रुका लागि शुक्रबारदेखि नै अग्रिम टिकट बुकिङ खुला गरिएको छ। यात्रुलाई यात्रा क्रममा पर्ने समस्या समाधान गर्न काठमाडौं उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
सहायता कक्ष सञ्चालन गरिएका स्थानमा नयाँ बसपार्क, बल्खु चोक, फर्पिङ, कलंकी, नागढुंगा, हलचोक, चाबहिल, कोटेश्वर, भीमढुंगा चेकपोस्ट, तीनपिप्ले, टोखा, साँखु बसपार्क, नाङ्लेभारे चेकपोस्ट, जगाती चोक र चापागाउँ चेकपोस्ट रहेका छन्। यी सहायता कक्षबाट यात्रुले यात्रा क्रममा भोग्ने समस्या तथा गुनासो राख्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस