कञ्चनपुर । महाकाली नदीमा खसेर बेपत्ता भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) सागरराज थारूको शव फेला परेको छ । बुधबार बिहान झोलुङ्गे पुलबाट चुँडिएर नदीमा खसेको तारजालीमा उनको शव फेला परेको हो ।
बर्दियाको ठाकुरबाबा नगरपालिका-६ घर भएका २६ वर्षीय थारूको शव तारजालीमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर रावतले जानकारी दिए।
मध्य असोजमा महाकाली नदीमा आएको बाढीले पुलको एकातर्फको पिलरमा क्षति पुर्याएपछि झोलुङ्गे पुल बीचबाट चुँडिएको थियो। पुलसँगै नेपाल टेलिकमको इन्टरनेट तारसमेत चुँडिएको थियो। सोही तार तान्ने क्रममा थारू नदीमा खसेर बेपत्ता भएका थिए।
गत शनिबार दिउँसो अरू व्यक्तिसँगै डुङ्गामा चढेर टेलिकमको तार तान्ने क्रममा सन्तुलन बिग्रिएपछि उनी नदीमा खसेका थिए। चुँडिएको तारमा थारूले लगाएको टी-सर्ट देखिएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
दोधारा चाँदनीस्थित देवस्थान गुल्ममा कार्यरत थारू दुर्घटनामा पर्नुभन्दा अघिल्लो दिन मात्रै काज सरुवा भएर त्यहाँ पुगेका थिए। बेपत्ता भएपछि सशस्त्र प्रहरीका गोताखोरसहितको टोलीले उनको खोजी गरिरहेको थियो। डीएसपी रावतका अनुसार थारूको शव निकालेर पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
प्रतिक्रिया दिनुहोस