after_navbar

तुलसीपुर प्रहरीलाई बडी क्यामेरा सहयोग


१३ घण्टा अगाडि


दाङ। इलाका प्रहरी कार्यालय तुलसीपुरलाई गोरखा मोडेल कलेजले बडी वर्न क्यामेरा उपलब्ध गराएको छ। प्रहरीको कामकारबाहीमा पारदर्शिता बढाउन, घटनाको प्रमाण संकलन गर्न र प्रहरी तथा नागरिकबीचको विवाद निरूपणमा सहयोग पुर्‍याउने उद्देश्यले क्यामेरा प्रदान गरिएको हो।

गोरखा ग्रुपका शैक्षिक निर्देशक दुर्गा केसीले इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीलाई क्यामेरा हस्तान्तरण गरेका हुन्।

प्रहरी नायब उपरीक्षक पराजुलीका अनुसार यसअघि कार्यालयमा बडी वर्न क्यामेरा थिएन। क्यामेराको अभावमा शान्तिसुरक्षा कायम गर्ने क्रममा भएका घटनाको वास्तविकता पहिचान गर्न कठिनाइ हुने गरेको उनले बताए। केही दिनअघि तुलसीपुरमा प्रहरीमाथि नै दोष लगाउने गरी विवाद भएको प्रसङ्ग उल्लेख गर्दै उनले क्यामेरा उपलब्ध भएको अवस्थामा घटनाको वास्तविकता पत्ता लगाउन सहज हुने बताए।

प्रविधिको प्रयोगले निर्दोषले न्याय र दोषीले सजाय पाउने वातावरण बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै पराजुलीले क्यामेराको प्रभावकारी प्रयोग गरिने बताए।

गोरखा ग्रुपका शैक्षिक निर्देशक केसीले प्रहरी र नागरिकबीच हुने अन्तरक्रियाको श्रव्यदृश्य अभिलेख राख्न, सडक दुर्घटनालगायतका घटनामा प्रत्यक्ष प्रमाण संकलन गर्न क्यामेरा सहयोगी हुने बताए। प्रहरीलाई आवश्यक परे थप दुईवटा बडी वर्न क्यामेरा उपलब्ध गराउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले अपराध तथा दुर्घटना न्यूनीकरणमा प्रविधिको प्रयोग महत्त्वपूर्ण रहेको बताए। क्यामेराले प्रमाण संकलनमा सहयोग गर्नुका साथै प्रहरी र सर्वसाधारण दुवै पक्षलाई सुरक्षित महसुस गराउने उनको भनाइ थियो। उनले अन्य निजी क्षेत्र तथा सरोकारवालालाई पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता प्रविधिमैत्री सहयोग गर्न आग्रह गरे।

सुरक्षाकर्मीको पोसाकमा जडान गरिने बडी वर्न क्यामेराले ड्युटीका क्रममा हुने गतिविधि तथा घटनाको अडियो र भिडियो अभिलेख राख्छ। यसको प्रयोगले प्रहरीको कामकारबाहीमा पारदर्शिता र जवाफदेहिता बढाउनुका साथै नागरिकको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="