काठमाडौ। बैंक तथा वित्तीय संस्थामा १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता र वार्षिक २३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिए पनि उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न सकेको छैन। लगानी विस्तार नहुँदा रोजगारी सिर्जनासमेत प्रभावित भएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अनुसार कमजोर बजार माग, निजी क्षेत्रमा कर्जा प्रवाहको सुस्त वृद्धि र नीतिगत तथा प्रशासनिक झन्झटका कारण आर्थिक गतिविधि कमजोर बनेको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित भएको छ, जबकि सरकारले ७ प्रतिशतको लक्ष्य राखेको थियो।
महासङ्घका अनुसार नेपालका उद्योग औसतमा ४४.५ प्रतिशत क्षमतामा मात्रै सञ्चालन भइरहेका छन्। आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप १३.९ प्रतिशतले बढ्दा निजी क्षेत्रतर्फको कर्जा प्रवाह ६.६ प्रतिशतले मात्रै वृद्धि भएको थियो। नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत राखेको थियो।
उत्पादनमूलक क्षेत्रमा भन्दा उपभोगमा कर्जा प्रवाह बढी केन्द्रित भएको महासङ्घको निष्कर्ष छ। गत आर्थिक वर्षको पहिलो नौ महिनामा उपभोग कर्जा ११.७ प्रतिशतले बढ्दा औद्योगिक उत्पादन कर्जा ६.५ प्रतिशतले मात्रै बढेको र कृषि कर्जा २.३ प्रतिशतले घटेको थियो।
कुल कर्जाको ६३ प्रतिशत घरजग्गा धितोमा प्रवाह हुँदा घरजग्गा धितो राख्न नसक्ने साना तथा मझौला उद्यमले कर्जा पाउन कठिनाइ भोगिरहेको महासङ्घले जनाएको छ। पर्याप्त तरलता र घट्दो ब्याजदरका बाबजुद उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसक्नुले अर्थतन्त्रमा माग कमजोर रहेको सङ्केत गरेको महासङ्घको भनाइ छ।
प्रतिक्रिया दिनुहोस