अर्घाखाँची । अर्घाखाँचीलाई बालमैत्री जिल्ला बनाउने उद्देश्यले जिल्लाका स्थानीय तह तथा सरोकारवाला निकायले साझा प्रतिबद्धता जनाएका छन्।
बालबालिकाको हक, अधिकार, संरक्षण, विकास र सहभागिता सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासनका ५१ वटा सूचक पूरा गर्ने लक्ष्यसहित प्रतिबद्धता व्यक्त गरिएको हो।
जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले संविधान, बालबालिकासम्बन्धी ऐन तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाअनुसारका व्यवस्था प्रभावकारी रूपमा लागू गरिने बताए।
पिस नेपालको सहजीकरण र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा बालविवाह, बालश्रम, बालहिंसा, दुर्व्यवहार तथा बालबालिकामाथि हुने विभेद र शोषण अन्त्य गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेको उपस्थितिमा भएको कार्यक्रममा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिँदै स्थानीय तह, विद्यालय, परिवार र समुदायबीच सहकार्य सुदृढ गर्ने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस