after_navbar

औद्योगिक क्षेत्र स्थापनादेखि कर घटाउन सांसदसँग व्यवसायीको माग


२२ घण्टा अगाडि


दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले प्रतिनिधिसभा सदस्यद्वय साजिदा खातुन सिद्धिकी र भीमकुमारी बुढामगरलाई स्वागत तथा सम्मान गरेको छ। संघका अध्यक्ष ध्रुवकुमार गहतराजको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाको औद्योगिक विकास, पर्यटन प्रवर्द्धन र व्यवसायीका समस्याबारे छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी व्यवसायीले दाङमा औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गर्न सांसदद्वयलाई आग्रह गरेका थिए। स्वर्गद्वारी जाने सडक व्यवस्थित र स्तरीय बनाउन, धार्मिक पर्यटक भित्र्याउन तथा धार्मिक अनुष्ठानका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिएका थिए।

व्यवसायीले बजार अनुगमनलाई त्रास सिर्जना गर्नेभन्दा सहजीकरण गर्ने माध्यम बनाउन, उद्योग तथा व्यवसाय दर्ता र नवीकरणमा एकद्वार प्रणाली लागू गर्न र चर्को कर घटाउन माग गरेका थिए।

जवाफमा सांसदद्वयले जिल्लाको विकास र व्यवसायीका समस्या समाधानका लागि सहजीकरण तथा सहयोग गर्ने प्रतिबद्धता जनाए। उनीहरूले संसद्, संसदीय समिति र सम्बन्धित निकायमार्फत नागरिकका समस्या समाधान गर्न पहल गर्ने बताए। विकासका लागि आवश्यक योजना, माग र सुझाव स्पष्ट रूपमा उपलब्ध गराउन पनि उनीहरूले आग्रह गरे।

कार्यक्रममा संघका पूर्वअध्यक्ष नारायणप्रसाद भुसाल, उद्योग उपाध्यक्ष गेहेन्द्र बस्नेत, सहकोषाध्यक्ष शालिकराम आचार्य र सदस्य गोपाल खनाललगायतले जिल्लाको औद्योगिक तथा व्यावसायिक विकासबारे धारणा राखेका थिए। संघका वरिष्ठ उपाध्यक्ष महेन्द्र बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव भीमसेन डिसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="