after_navbar

दैलेखमा पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनबारे थप परीक्षण गरिने


४ घण्टा अगाडि


काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सम्पन्न भए पनि व्यावसायिक उत्पादन सम्भव छ वा छैन भन्ने टुंगो लाग्न बाँकी छ। भण्डार व्यावसायिक रूपमा उत्खनन गर्न पर्याप्त छ वा छैन भन्ने यकिन गर्न खानी तथा भूगर्भ विभागले चिनियाँ टोलीलाई थप प्राविधिक परीक्षणका लागि पत्राचार गरेको छ।

अन्वेषणका क्रममा प्राकृतिक ग्याससँगै पेट्रोलियम पदार्थसमेत फेला परेको बताइएको छ। अब व्यावसायिक उत्पादनको सम्भावना निर्क्योल गर्न वेल टेस्टिङ अर्थात् कुवाको उत्पादन क्षमता परीक्षणलगायतका थप प्राविधिक प्रक्रिया अघि बढाउनुपर्नेछ।

खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख गणेश त्रिपाठीका अनुसार अन्वेषणको काम सम्पन्न भए पनि त्यसकै आधारमा व्यावसायिक उत्पादन सम्भव छ भन्ने निष्कर्षमा पुग्न सकिँदैन। त्यसका लागि थप परीक्षण आवश्यक रहेको उनले बताए।

‘अन्वेषणपछि चिनियाँ टोलीले पुनः प्राविधिक काम गरेर पेट्रोलियम पदार्थको भण्डार व्यावसायिक रूपमा उत्खनन गर्न सकिने अवस्थामा छ वा छैन भन्ने प्रमाणित गर्नेछ,’ त्रिपाठीले भने, ‘त्यसपछि मात्रै उत्पादनका विषयमा थप प्रक्रिया अघि बढ्नेछ।’

थप परीक्षणबाट दैलेखमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसलाई व्यावसायिक रूपमा उत्खनन गर्न सम्भव छ वा छैन भन्ने स्पष्ट हुनेछ। परीक्षणबाट सकारात्मक नतिजा प्राप्त भए मात्रै उत्पादन प्रक्रिया अघि बढाउन सकिने विभागको भनाइ छ। चिनियाँ टोलीलाई थप कामका लागि पत्र पठाइएको भए पनि जवाफ प्राप्त हुन बाँकी रहेको परियोजना कार्यालयले जनाएको छ।

दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गरिएको थियो। २०७६ साल असोजदेखि अन्तिम अन्वेषणका लागि ड्रिलिङ सुरु भएको उक्त क्षेत्रमा चिनियाँ टोलीले चार हजार १३ मिटर गहिराइसम्म खनेर अन्वेषण सम्पन्न गरेको थियो। चार हजार मिटर गहिराइसम्म खन्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी गहिराइसम्म ड्रिलिङ गरिएको हो।

अन्वेषणका क्रममा जलजले क्षेत्रमा जमिनमुनि ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास (मिथेन) रहेको विवरण सार्वजनिक भएको थियो। नेपाली र चिनियाँ प्राविधिक टोलीले सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भेसहित चार प्रकारका सर्वेक्षण सम्पन्न गरेका थिए। त्यसपछि ड्रिलिङमार्फत अन्वेषणको मुख्य काम पूरा गरिएको थियो।

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीबीच दुई अर्ब ४० करोड रुपैयाँको आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता भएको थियो।

अन्वेषणका लागि सरकारले भैरवी गाउँपालिका–१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गा अधिग्रहण गरेको थियो। प्रतिरोपनी एक लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिएर जग्गा अधिग्रहण गरिएको हो।

दैलेखमा पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादन सम्भव भए नेपालले पेट्रोलियम पदार्थ आयातमा खर्च गर्दै आएको ठूलो रकम बचत गर्न सक्ने अपेक्षा गरिएको छ। यसबाट रोजगारी सिर्जना, स्थानीय पूर्वाधार विकास र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने सम्भावना छ।

उत्खनन प्रक्रिया अघि बढे दैलेखमै पेट्रोलियम पदार्थ प्रशोधन केन्द्र निर्माण गर्ने तथा सुर्खेतबाट दैलेख ३५ मिनेटमै पुग्ने गरी सुरुङ मार्ग बनाउने योजना पनि चिनियाँ टोलीले अघि सारेको बताइएको छ। यद्यपि उत्पादन सुरु हुने समय र आर्थिक सम्भाव्यता थप प्राविधिक परीक्षणपछि मात्रै स्पष्ट हुनेछ।

प्रतिक्रिया दिनुहोस

data-href="