काठमाडौ। विपद्को समयमा नागरिकलाई तत्काल सूचना दिन नेपालमै विकास गरिएको ‘सेल ब्रोडकास्टिङ’ प्रणालीको पहिलो चरणको परीक्षण सफल भएको छ।
गृह मन्त्रालयका अनुसार सोमबार बेलुका गृहमन्त्री सुधन गुरुङ र सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको उपस्थितिमा नेपाल टेलिकमको बलम्बुस्थित प्राविधिक भवनमा परीक्षण गरिएको हो।
यो प्रविधिबाट निश्चित क्षेत्रका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना पठाउन सकिन्छ। बाढी, पहिरो, भूकम्पलगायत विपद्को जोखिमबारे समयमै जानकारी दिएर जनधनको क्षति कम गर्न यसले सहयोग गर्ने अपेक्षा गरिएको छ।
पहिलो चरणको परीक्षण सफल भएपछि अब पोखरामा एनसेलको नेटवर्कमार्फत परीक्षण गरिनेछ। त्यसपछि देशभर परीक्षण गरी राष्ट्रिय स्तरमा सञ्चालन गर्ने सरकारको योजना छ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यो प्रणालीबाट सिमकार्ड वा इन्टरनेट नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सूचना प्राप्त हुन सक्छ।
सामान्य मोबाइल सन्देशभन्दा फरक यस प्रविधिले नेटवर्कमा चाप भएका बेला पनि छोटो समयमा धेरै मोबाइलमा एकैपटक सूचना पठाउन सक्छ।
प्रतिक्रिया दिनुहोस