after_navbar

बैजनाथमा झडप: प्रहरीले गर्‍यो ८ राउण्ड हवाई फायर


२ मिनेट अगाडि


बाँके। बाँकेको बैजनाथ गाउँपालिका-१ चिसापानीमा दुई समूहबीच झडप भएपछि प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीका अनुसार आइतबार बिहान करिब पौने ४ बजे स्थिति नियन्त्रणमा लिन प्रहरीले इन्सास राइफलबाट हवाई फायर गरेको हो।

चिसापानीमा लागेको मेलामा राति आगो तापेर बसेका दुई समूहका युवाबीच विवाद भएपछि झडप भएको थियो। झडपका क्रममा ढुंगामुढा र आगोको अगुल्टोले हानाहान भएको थियो।

झडप छुट्याउन पुगेका प्रहरीमाथि समेत आक्रमण भएको थियो। घटनामा प्रहरी सहायक निरीक्षक (सई) सहित चार प्रहरी घाइते भएका छन्। झडपमा एक सर्वसाधारण पनि घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। उक्त मेला जागरण युवा क्लब चिसापानीले आयोजना गरेको हो।

प्रतिक्रिया दिनुहोस

data-href="