काठमाडौ। सरकारले प्रस्ताव गरेको उखुको मूल्यमा असहमति जनाउँदै किसानहरूले चिनी उद्योग सञ्चालन हुन नदिने चेतावनी दिएका छन्। उनीहरूले चालु सिजनका लागि उखुको मूल्य प्रतिक्विन्टल १ हजार ५० रुपैयाँ कायम गर्न माग गरेका छन्।
उखुको मूल्य निर्धारणबारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा किसान र चिनी उद्योगीबीच दुई चरणमा भएको छलफल सहमतिबिना टुंगिएको छ। सरकारले प्रस्ताव गरेको मूल्य उत्पादन लागत र बजारको अवस्थाअनुसार नभएको भन्दै किसानहरू असन्तुष्ट बनेका छन्।
पहिलो चरणको छलफलमा सरकारले गत वर्षको तुलनामा प्रतिक्विन्टल ८ रुपैयाँ बढाएर अनुदानबाहेक ६२८ रुपैयाँ मूल्य प्रस्ताव गरेको थियो। किसानले उक्त प्रस्ताव अस्वीकार गरेपछि दोस्रो चरणमा सरकारले सामान्य जातको उखुको मूल्य ६५० रुपैयाँ र बढी चिनी उत्पादन हुने जातको उखुको मूल्य ६७५ रुपैयाँ प्रस्ताव गरेको थियो। यसमा किसानले पाउँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान छुट्टै हुने बताइएको छ।
तर, किसानहरूले दुवै प्रस्ताव अस्वीकार गर्दै प्रतिक्विन्टल १ हजार ५० रुपैयाँ नै हुनुपर्ने अडान राखेका छन्।
उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायले सरकारले किसानको हितभन्दा उद्योगीको स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाएका छन्। माग सम्बोधन नभए चिनी उद्योग सञ्चालनमा रोक लगाउने गरी आन्दोलन गर्ने तयारी भइरहेको उनले बताएका छन्।
सरकारले भने आगामी शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकमा उखुको मूल्य निर्धारणसम्बन्धी प्रस्ताव लैजाने तयारी गरेको छ।
यता, चिनी उद्योगहरूले चालु सिजनमा उखु क्रसिङ गर्न आवश्यक तयारी पूरा गरिसकेका छन्। तर, किसान, उद्योगी र सरकारबीच मूल्यमा सहमति हुन नसक्दा उद्योग सञ्चालनमा ढिलाइ भएको छ। यसले उखु बिक्री गरेर जीविकोपार्जन गर्ने किसानलाई थप अन्योलमा पारेको छ।
प्रतिक्रिया दिनुहोस