रिचार्ज कार्डको आयात ७० प्रतिशतले घट्यो


श्रावण १०, २०८१


काठमाडौं, १० साउन। नेपालमा रिचार्ज कार्डको प्रयोग कम हुँदै गएको छ । अनलाईनको माध्यमबाट मोवाइलमा रिचार्ज गर्न मिल्ने भएपछि रिचार्ज कार्डको प्रयोग कम हुन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार सम्वन्धी तथ्यांक अनुसार गत आर्थिक बर्ष २०८०–८१ मा रिचार्ज कार्डको आयात ७० प्रतिशतले घटेको छ ।

अघिल्लो आव २०७९–८० मा नेपालमा विदेशबाट ६ करोड ६९ लाख ६४ हजार रुपियाँ तिरेर एक लाख २९ हजार ७९२ केजी रिचार्ज कार्ड आयात गरिएको थियो । गत आवमा भने दुई करोड एक लाख ६९ हजार रुपियाँको रिचार्ज कार्ड आयात भएको छ ।

परिमाणका आधारमा ३५ हजार ६४३ केजी यस्तो कार्ड आयात भएको तथ्यांकमा उल्लेख छ । यो छपाई खर्च तथा लागत मात्रै हो, रिचार्ज कार्डको मूल्य भने होइन । नेपालका दूरसञ्चार कम्पनीहरुले स्वदेश र विदेश दुवै ठाउँमा रिचार्ज कार्ड छाप्ने गर्छन् । विदेशमा छापिने रिचार्ज कार्ड भन्सारको प्रक्रियामार्फत नै आयात गर्नुपर्छ ।

बिशेषगरी अनलाइनको माध्यमबाट मोवाइल नम्बरमा रिचार्ज गर्न मिल्ने भएपछि रिचार्ज कार्डको आयात घट्न थालेको बताइन्छ । साथै, स्वदेशमै गरिने छपाई पनि घटेको टेलीकम कम्पनीहरु बताउँछन् ।

समग्रमा पछिल्लो समय छपाई रिचार्ज कार्डको प्रयोग स्वाट्टै घटेको जानकारहरु बताउँछन् । अहिले मोवाइल बैंकिङ, वालेट, आईपीएस जस्ता डिजीटल भुक्तानीका उपकरणबाट मोवाइल नम्बरमा सिँधै टप अप ९रिचार्ज० गर्न मिल्छ । औसतमा ५० प्रतिशत हिस्सामा अनलाइन रिचार्ज हुने गर्छ ।

यसरी अनलाइन रिचार्जको प्रवृति बढेपछि छपाई रिचार्जको प्रयोग घट्दै गएको दूरसञ्चार कम्पनीहरु बताउँछन् । अहिले युवा पुस्ता, व्यवसायिक व्यक्तित्व लगायत प्रविधिमा अभ्यस्त भएका ग्राहकहरुले अनलाइनबाटै मोवाइलमा रिचार्ज गर्न थालेका छन् ।

दुर्गम ठाउँहरुमा समेत अनलाइनमार्फत रिचार्ज गर्ने प्रवृत्ति बढेको बताइन्छ । दुर्गम ठाउँमा रिचार्ज कार्ड ढुवानी गर्न समय लाग्छ । त्यसले गर्दा त्यहाँ डिजिटल रिचार्जकै प्रयोग बढ्न थालेको छ ।

साथै, त्यसको ढुवानी खर्च पनि उच्च हुने गर्छ । त्यसले गर्दा दुर्गम ठाउँमा पनि अनलाइनबाट रिचार्ज गर्ने प्रवृत्ति बढेको कम्पनीहरु बताउँछन् । तर, प्रौढ तथा प्रविधिमा अभ्यस्त नभएका ग्राहकहरुले अझै पनि छपाई रिचार्ज कार्ड प्रयोग गर्ने गरेका छन् ।

विशेषगरी कोरोना काल पछि नेपालमा रिचार्ज कार्डको आयात घटेको देखिन्छ । कोरोना नियन्त्रण गर्न लकडाउन गरेपछि राष्ट्र बैंक तथा बैंकहरुले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरेका थिए ।

त्यसपछि आम मानिसहरु पनि कोरोना संक्रमण हुने डरमा नगदको सट्टा डिजिटल भुक्तानी गर्न सुरु गरे । साथै, रिचार्ज कार्डको सट्टा पनि डिजिटल रिचार्ज नै गर्न थाले । त्यसपछि अनलाइन रिचार्ज गर्ने प्रवृत्ति बढ्दै गएको जानकारवालाहरु बताउँछन् ।

कोरोना काल सुरु हुनुभन्दा अघिल्लो आव २०७५–७६ मा नौ करोड १३ लाख ७१ हजार रुपियाँ र आव २०७६–६६ मा १० करोड ११ लाख ४१ हजार रुपियाँको रिचार्ज कार्ड आयात भएको छ । आव २०७६–७७ को फागुनसम्म कोरोनाको असर देखिएको थिएन । २०७६ चैत ११ गतेदेखि नेपालमा लकडाउन गरिएको थियो ।

त्यसपछि आव २०७७–७८ मा ३ करोड ३४ लाख ५१ हजार रुपियाँ, आव २०७८–७९ मा ३ करोड ४५ लाख ७५ हजार रुपियाँ र आव २०७९–८० मा ६ करोड ६९ लाख ६४ हजार रुपियाँको रिचार्ज कार्ड आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="