after_navbar

बद्रीनाथ क्षेत्रमा हिमपहिरो: १६ जनाको उद्धार, ४१ अझै बेपत्ता


फागुन १६, २०८१


एजेन्सी। भारतको उत्तराखण्ड राज्यस्थित चमोली जिल्लाको बद्रीनाथ क्षेत्रमा शुक्रबार गएको ठूलो हिमपहिरोमा परी सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका छन्। हालसम्म १६ जनालाई उद्धार गरिए पनि ४१ जना अझै बेपत्ता छन्।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले हिमपहिरो प्रभावित क्षेत्रमा व्यापक उद्धार कार्य भइरहेको जानकारी दिएका छन्। उनले भने, “सीमा सडक संगठन (बीआरओ) का कामदारहरू मानानजिकै काम गरिरहेका बेला अकस्मात् हिमपहिरो खस्दा धेरै जना हिउँमुनि परेका छन्। उद्धारका लागि सेना र अन्य सुरक्षा निकाय परिचालित छन्।”

हिमपहिरोमा परेकामध्ये गम्भीर घाइते भएका व्यक्तिहरूलाई मानानजिकै रहेको सेनाको क्याम्पमा उपचारका लागि पठाइएको छ। तर, भारी हिमपातका कारण उद्धार टोलीलाई कठिनाइ भइरहेको भारतीय अधिकारीहरूले बताएका छन्।

प्रहरी मुख्यालयका प्रवक्ता आईजी निलेश आनन्द भर्नेका अनुसार उद्धार कार्यमा सेनाका विशेष टोली, बीआरओ, राज्य आपत्कालीन टोली र स्थानीय प्रशासन सक्रिय छन्। “हामी बाँकी फसेका कामदारहरूको उद्धारका लागि सबै प्रयास गरिरहेका छौँ,” उनले भने।

उक्त क्षेत्र उच्च हिमाली भूभागमा पर्ने भएकाले हिउँपहिरोको जोखिम पनि उत्तिकै रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस

data-href="