after_navbar

नेपालको सुखद जित : नेदरल्यान्ड्सलाई १६ रनले पराजित


जेठ २, २०८२


काठमाडौँ, २८ जेठ । आइसीसी लिग २ अन्तर्गत मंगलबार स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै सिरिजमा तेस्रो जित दर्ता गरेको छ। यससँगै नेपालले चार खेलमध्ये तीनमा जित निकाल्दै स्कटल्यान्ड सिरिजलाई सुखद रूपमा टुंग्याएको हो।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २३६ रन बनाएको थियो। तर, निर्धारित समयभन्दा ढिलो बलिङ गरेबापत पेनाल्टीस्वरूप १० रन डच टोलीलाई उपहार दिइएको थियो। त्यसअनुसार नेदरल्यान्ड्सलाई २२७ रनको लक्ष्य दिएको थियो।

तर, डच टोली ४९.२ ओभरमा २२० रनमै समेटिएपछि नेपाल १६ रनले विजयी भयो।

नेपालका लागि आरिफ शेखले मिडल अर्डर सम्हाल्दै उत्कृष्ट ८४ रन बनाए। उनले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। कप्तान रोहित पौडेल र भीम सार्कीले समान ३५ रन बनाएर तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए। दीपेन्द्र सिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११ रन बनाएका थिए।

नेदरल्यान्ड्सका लागि पल भान मिकरानले सर्वाधिक ४ विकेट लिए। मिचेल लेभिटले ३ र आर्यन दत्तले १ विकेट लिए।

नेपालका लागि बलिङतर्फ डेब्यु गर्दै नन्दन यादवले प्रभावशाली प्रदर्शन गरे। उनले ३ विकेट लिए। सन्दीप लामिछानेले पनि ३ विकेट हात पारे भने ललित राजवंशीले २ तथा कुशल भुर्तेल र करण केसीले १–१ विकेट लिए।

नेदरल्यान्ड्सका लागि विस्ले वारेसीले सर्वाधिक ३६ रन बनाए। कप्तान स्कट इड्वार्डले ३० रन, केल केलिनले २५, माइकल लेभिटले २७, नोरा क्रसले २२ रन बनाए। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा डच टोली पराजित भयो।

नेपालले यसअघि पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो। तेस्रो खेलमा भने नेपाल २ रनले स्कटल्यान्डसँग पराजित भएको थियो।

यो जितसँगै नेपालले चार खेलमध्ये ३ जित हात पार्दै स्कटल्यान्ड भ्रमणलाई सफल बनाएर टुंग्याएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="