after_navbar

एकै दिन पौने २२ अर्ब भुक्तानी


असार २६, २०८२



काठमाडौँ,२६ असार। चालु आर्थिक वर्ष २०८१/८२ को अन्तिम दिन सरकारले एकै दिनमा करिब २२ अर्ब रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार असार २५ गते मात्र २१ अर्ब ७३ करोड रुपैयाँको भुक्तानी गरिएको हो।

सरकारले चालु आवका लागि पुँजीगत खर्चतर्फ विनियोजन गरेको ३ खर्ब ५२ अर्ब रुपैयाँमध्ये एकै दिन पौने २२ अर्ब रुपैयाँ खर्च गर्नु आर्थिक वर्षको अन्त्यमा देखिने ‘अन्तिम घचघच’ प्रवृत्तिको ताजा उदाहरण हो। महालेखाका अनुसार असार २५ सम्ममा कुल २ खर्ब ८ अर्ब ३४ करोड रुपैयाँ पुँजीगत खर्च भइसकेको छ, जुन कुल पुँजीगत बजेटको ५९.१३ प्रतिशत हो।

गत आर्थिक वर्ष २०८०/८१ को अन्तिम दिन अर्थात असार २५ मा सरकारको खर्च १४ अर्ब ४० करोड थियो। त्यस वर्ष असार २४ मा पनि १९ अर्ब ९९ करोड खर्च गरिएको थियो। तर यो वर्षको अन्तिम दिनको खर्च अघिल्ला वर्षहरूको तुलनामा कैयौं गुणा बढी देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि सबै सार्वजनिक निकायहरूलाई चेक जारी गर्न प्रतिबन्ध लगाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिक वर्ष सकिनु एक साता अघिबाट सबै सरकारी खाताहरू रोक्का हुने व्यवस्था छ। त्यसैले पनि बुधबारसम्म सरकारी निकायहरूले अत्यावश्यक बाहेक सबै भुक्तानी गरिसकेका छन्।

लक्ष्यको तुलनामा कम राजस्व
सरकारले चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो, तर असार २५ सम्ममा १५ खर्ब ५ अर्ब १९ करोड रुपैयाँ मात्रै खर्च भएको छ, जुन कुल बजेटको ८०.९१ प्रतिशत हो।

त्यस्तै, राजस्व संकलन पनि लक्ष्यभन्दा निकै कम देखिएको छ। सरकारले कर तथा गैरकर स्रोतबाट १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ उठाउने लक्ष्य लिएको थियो, तर हालसम्म १० खर्ब ९७ अर्ब ७२ करोड मात्र संकलन भएको छ। यसमा कर राजस्व ९ खर्ब ९३ अर्ब ८८ करोड र गैरकर राजस्व १ खर्ब ३ करोड ८४ लाख रहेको छ, जुन लक्ष्यको क्रमशः ७७.३९ प्रतिशत र ७६.८७ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस

data-href="