प्युठान, ३१ असार। प्युठानमा आफ्नै पूर्व श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको मंगलबार बिहान हत्या भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
हत्या अभियोगमा ऐरावती गाउँपालिका–२ कात्तिकेका ३० वर्षीय लिलबहादुर बराललाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्यालले जानकारी दिए।
रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा बस्दै आएकी थिइन्। डिलाका अनुसार लिलबहादुरले रुक्मणीलाई फोन गरी बोलाएपका थिए। फोन गरेर बोलाएलगत्तै उनी घरभित्र पसेपछी लिलबहादुरले चक्कु प्रहार गरेका थिए।
“मैले कराएँ, नहानू भनें, तर सुनेन। आँखै अगाडि छुरा प्रहार गरेर मारे,” डिला परियारले भनिन्।
इजरायलमा रोजगारी गर्दै आएका लिलबहादुर असार २४ गते मात्र घर फर्केका थिए। रुक्मणीले गत वैशाखमा दिपक परियारसँग पुनः विवाह गरेकी थिइन्। दिपक १५ दिनअघि कामका लागि संखुवासभा गएका थिए।
रुक्मणी र लिलबहादुरका एक छोरा र एक छोरी रहेका छन्। आमाको हत्या र बाबुको गिरफ्तारीपछि उनीहरू विचल्लीमा परेका छन्।
घटनाको जानकारी पाउनेबित्तिकै बड्डाडा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीको टोली घटनास्थल पुगेर लिलबहादुरलाई पक्राउ गरेको थियो।
“घटनास्थल सुरक्षित गरिएको छ र अभियुक्त प्रहरी नियन्त्रणमा छन्,” डीएसपी बस्यालले बताए। प्रारम्भिक अनुसन्धानअनुसार पूर्व वैवाहिक रिसइवीका कारण घटना भएको प्रहरीको अनुमान छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस