काठमाडौँ,६ असोज । दाङ जिल्लामा पाँचवटा अतिरिक्त हुलाक कार्यालय बन्द भएका छन्। हुलाक निर्देशनालय दाङका अधिकृत शोभाराम बस्नेतका अनुसार तुलसीपुर–१३ को फूलबारी, तुलसीपुर–१८ बेलझुण्डी, तुलसीपुर–४ को हलवार, बबई गाउँपालिकाको पुरन्धारा, र दङ्गीशरण गाउँपालिकाको गोल्टाकुरीमा रहेका अतिरिक्त हुलाक कार्यालयहरू अब सञ्चालनमा छैनन्।
अधिकृत बस्नेतले भने, “अतिरिक्त हुलाक कार्यालयको काम प्रायः शून्य छ। केही बैंकका चिठी बाहेक अरू चिठी आउँदैनन्।”
सधैं कम सेवाग्राही हुँदा, अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरूको अवकाशपछि पद स्वतः खारेज हुने कानुनी व्यवस्था अनुसार कार्यालय बन्द गरिएको हो। यसअघि विरोध भएता पनि अब कार्यालयहरू कर्मचारीको अवधिभर मात्र सञ्चालन हुन्छन्।
अतिरिक्त हुलाक कार्यालयहरूमा हुलाक प्रतिनिधि, वितरण, डाँक वाहक लगायतका पद थिए, जसले दैनिक कम्तीमा दुई घण्टा काम गर्नुपर्ने व्यवस्था थियो। हाल दाङमा २५ वटा अतिरिक्त हुलाक कार्यालयहरू र पाँचवटा इलाका हुलाक कार्यालयहरू सञ्चालनमा छन्।
प्रतिक्रिया दिनुहोस