काठमाडौँ,२६ असोज । आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध १ रनको रोमाञ्चक जीत निकालेको छ।
ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको योगफल तयार गरेको थियो। नेपालका आसिफ शेखले ४७ बलमा ५१ रनको उत्कृष्ट पारी खेले भने अन्य खेलाडीले सानो योगदान दिए। यूएईका जुनैद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, हेदर अली, हर्षित कौशिक र ध्रुव पराशरले १–१ विकेट लिए।
१४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो। अन्तिम ३ बलमा ३ रन चाहिएको अवस्थामा यूएईले लगातार ३ विकेट गुमाएर १ रन मात्र जोड्न सक्यो।
दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै नेपाललाई जित दिलाए। उनले पहिलो तीन बलमा ७ रन दिएपछि चौथो बलमा ध्रुव पराशरलाई क्याच आउट गराए, पाँचौँ बलमा हेदर अलीलाई र अन्तिम बलमा जाहिद अलीलाई रन आउट गराउँदै खेल आफ्नो पक्षमा पारे।
यूएईका आलिशान शरफुले ५८ र ध्रुव पराशरले ३२ रनको योगदान दिए। नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले १–१ विकेट लिए।
यो जितसँगै नेपालले सुपर–६ मा दुई खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान अङ्क रहेको ओमान नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ भने यूएई २ अङ्कसहित तेस्रो स्थानमा छ।
सुपर–६ मा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन्।
नेपालले अब सुपर–६ अन्तर्गत सोमबार कतारसँग, बुधवार ओमानसँग र शुक्रवार सामोआसँग खेल्नेछ।
सुपर–६ को शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्ने मौका पाउनेछन्।
प्रतिक्रिया दिनुहोस