after_navbar

यस वर्षको भाइटीका उत्तम साइत बिहान ११ः३९ बजे


असोज २८, २०८२


काठमाडौं,२८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे रहेको जनाएको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार यो साइत धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तमा परेको छ।

समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने भए पनि सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन।

यस वर्षको यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। त्यस दिनदेखि यमदीप दान सुरु हुने र सोही दिन धन त्रयोदशी तथा धनतेरस पर्व पनि पर्ने समितिले जनाएको छ।

कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक ३ गते सोमबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ४ गते मङ्गलबार बिहान औँसी तिथिमा स्नान–दान, कात्तिक ५ गते बुधबार गाई, गोरु र आत्म (म्ह) पूजा, र कात्तिक ६ गते बिहीबार भाइटीका तथा किजापूजा मनाइनेछ।

समितिले स्वीकृति दिएका तीन पञ्चाङ्ग (पात्रो) अनुसार नेवार समुदायले आत्म (म्ह) पूजा कात्तिक ५ गते नै गर्ने उल्लेख छ। सोही दिन नेपाल संवत् ११४६ नयाँ वर्ष पनि मनाइनेछ।

शास्त्रीय विधिअनुसार भाइटीका वा भ्रातृपूजा ज्येष्ठताको क्रमअनुसार दाजुभाइलाई टीकाटाला गर्ने प्रचलन रहेको समितिले जनाएको छ।

तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म मनाइन्छ। यस अवधिमा यमदीपदान गरेर यमयातनाबाट मुक्ति पाइने धार्मिक विश्वास रहँदै आएको छ। काग र कुकुरलाई मीठा परिकार खुवाएर खुसी बनाउने वैदिक परम्परा पनि यसै अवधिमा पालना गरिन्छ।

प्रतिक्रिया दिनुहोस

data-href="