काठमाडौ, २४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुक व्यक्तिहरूलाई ५० हजार रुपैयाँ आवेदन शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ।
रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको हो। निर्वाचन आयोगको प्रारम्भिक कार्यतालिका अनुसार समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने मिति पुस १८ र १९ तय गरिएको छ।
समानुपातिक उम्मेदवार छनोटका मापदण्ड तयार गर्ने जिम्मेवारी सहमहामन्त्री विपिन आचार्यलाई तोकिएको थियो। आचार्यका अनुसार उम्मेदवारका लागि कानुनी प्रावधानका साथ पार्टीले आन्तरिक मापदण्डहरू तयार गरेको छ।
‘उम्मेदवार हुनका लागि शुल्क ५० हजार रुपैयाँ कायम गरिएको छ,’ आचार्यले जानकारी दिए।
उनका अनुसार समानुपातिकको बन्द सूचीमा नाम परे पनि दलले प्राप्त गरेको मतका आधारमा उम्मेदवार छनोट हुन नसकेमा बुझाइएको शुल्क फिर्ता नहुनेछ।
यसअघि रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार बन्न चाहनेहरूबाट २५ हजार रुपैयाँ शुल्क लिएको पार्टीले अघिल्लो चुनावमा समानुपातिक तर्फ उम्मेदवार बनेकाहरूलाई यसपटक पुनः उम्मेदवार नबनाउने निर्णय पनि गरेको छ।
आचार्यले उम्मेदवारका लागि सार्वजनिक पदको दुरुपयोग नगरेको, वैध आयस्रोत भएको, र द्वेषपूर्ण गतिविधि नगर्ने स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको बताए।
उम्मेदवार छनोट प्रक्रिया ‘लिडरसिप एकेडेमी’ र ‘पोलिटिकल प्रोक्सिमिटी’ लगायतका विधिबाट हुनेछ। सातै प्रदेशबाट प्रतिनिधित्व हुने उम्मेदवार मूल्यांकन समिति गठन गरी अंकका आधारमा अन्तिम सूची तयार गरिने पनि उनले जानकारी दिए।
आवेदन पेस गर्ने अन्तिम मिति पार्टीको आगामी बैठकले तय गर्ने रास्वपाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस