काठमाडौ,२९ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पुराना राजनीतिक दलका नेताहरूले गणतन्त्र कायम भए पछि देशमा ‘भ्रष्टाचारतन्त्र र घुसखोरीतन्त्र’ मजबुत बनाएको आरोप लगाएका छन्। उनका अनुसार यिनै कारणले नेपाल आर्थिक रूपमा कमजोर र पछि परेको छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री पुनले गणतन्त्रले ल्याउनुपर्ने सुशासन, पारदर्शिता र विकासको वातावरण पुराना नेताहरूले बिगारेको दाबी गरे। उनले लेखे, “पुराना पुस्ताका नेताहरूले गणतन्त्रमा भ्रष्टचारतन्त्र र घुसखोरीतन्त्र घुसाएर नेपाललाई आर्थिक रूपमा समृद्धशाली बनाउने ढंग पटक्कै ल्याएनन्।”
देशलाई समृद्धतर्फ अघि बढाउन अब नयाँ पुस्ताका नेताको उदय आवश्यक रहेको उल्लेख गर्दै उनले युवालाई सक्रिय रूपमा राजनीतिमा प्रवेश गर्न आह्वान गरे। विशेषगरी आगामी चुनावलाई युवापुस्ताको सहभागितामार्फत देश परिवर्तन गर्ने अवसरका रूपमा लिन आग्रह गरे।
मन्त्री पुनले १५ वर्ष उमेर पुगेका तर अझै मतदाता नामावलीमा नाम नदर्जन गरेका युवाहरुलाई मंसिर ५ गतेभित्र अनिवार्य रूपमा नाम दर्ता गराउन अनुरोध गरे। उनले भने, “आगामी फागुन २१ गते हुने आम निर्वाचनमा सहभागी भई युवा पुस्ताका नेताहरूलाई छानेर सरकार बनाउन जोडदार माग गर्दछु।”
प्रतिक्रिया दिनुहोस