दाङ,३० कार्तिक । नेपालमा असोज महिनामा भित्रिएको रेमिट्यान्स इतिहासकै सबैभन्दा उच्चस्तरमा पुगेको छ। पहिलोपटक देशले एकै महिनामा २ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स प्राप्त गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
बैंकका ताजा वित्तीय तथ्यांकअनुसार असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन भदौ महिनाको तुलनामा ७९ प्रतिशतले बढेको हो। असोजमा परेका दशैँ–तिहारजस्ता ठूला चाडपर्वका कारण विदेशमा रहेका नेपालीले परिवारलाई बढी रकम पठाएकाले रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको बताइन्छ।
गत वर्षको असोजमा १ खर्ब ४४ अर्ब १७ करोड मात्र रेमिट्यान्स आएको थियो।
चालु आर्थिक वर्षका पहिलो तीन महिनामा नेपालले ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशत अधिक हो। गत वर्ष यसै अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रेमिट्यान्स आएको थियो।
त्यसैगरी, तीन महिनामा भित्रिएको रेमिट्यान्स अमेरिकी डलरमा २९.२ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड पुगेको छ। गत वर्ष यो वृद्धि दर १०.६ प्रतिशत मात्र थियो।
वैदेशिक रोजगारीतर्फ आकर्षण बढ्दै
असोजसम्मको अवधिमा वैदेशिक रोजगारीका नयाँ श्रम स्वीकृति लिने संख्या १,२३,४५९ पुगेको छ भने पुनः श्रम स्वीकृति लिने ७७,२५७ जना रहेका छन्।
गत वर्षको सोही अवधिमा नयाँ स्वीकृति १,१०,६५४ र पुनः स्वीकृति ५९,९३९ मात्र थियो।
रेमिट्यान्सलाई नेपालको अर्थतन्त्रको प्रमुख आधार मानिन्छ। असोजमा प्राप्त भएको यो कीर्तिमानले अर्थतन्त्रमा तत्काल सकारात्मक प्रभाव परेको अर्थविश्लेषकहरू बताउँछन्। उनीहरूका अनुसार चाडपर्वको खर्च, उपभोग वृद्धि र बजारमा तरलता बढ्नाले आर्थिक गतिविधिमा पनि चलायमानता देखिएको छ।
प्रतिक्रिया दिनुहोस