काठमाडौ,२ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै सशक्त प्रदर्शन गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलवार सम्पन्न खेलमा कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले १९ ओभरमै पूरा गर्यो।
कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। ओपनर प्रियांक पञ्चालले डेब्यूमै उत्कृष्ट प्रदर्शन गर्दै ४८ बलमा ७ चौका र ६ छक्कासहित ९० रनको धुन्धाम पारी खेले। ओपनर म्याक्स ओ’डाउडसँग मिलेर पहिलो विकेटका लागि ६१ रन जोडे। पवन सरार्फले १६ बलमा २७ रन जोडे भने मार्क वाटले १६ रन थपे। कर्णालीले निर्धारित २० ओभरमा १६७ रनको मध्यम चुनौती खडा गरेको थियो।
जवाफी ब्याटिङमा चितवनका ओपनर दीपक बोहराले स्थिर पारी खेल्दै ४२ रन बनाए। अर्का ओपनर डेविड मलान ६ रनमै आउट भए। रवि बोपाराले अनुशासित ब्याटिङ गर्दै ३६ बलमा ५२ रन बनाए भने सेफ जैबले ३८ रनको महत्वपूर्ण योगदान दिए। कप्तान कुशल मल्लले २० रन जोडे।
कर्णालीका लागि कप्तान सोमपाल कामीले सर्वाधिक २ विकेट लिए भने युनिश सिंह र युवराज खत्रीले एक–एक विकेट हात पारे। चितवनका लागि सोहेल तनवीर, सेफ जैब र रवि बोपाराले एक–एक विकेट लिए।
आजको खेलपछि चितवन राइनोजले प्रतियोगितामा पहिलो जित दर्ता गर्दै अङ्कतालिकामा महत्वपूर्ण तीन अङ्क जोडेको छ।
प्रतिक्रिया दिनुहोस