काठमाडौँ,१६ फागुन। इरानको राजधानी तेहरानको मध्य भागमा तीनवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन्। तेहरानको रिपब्लिक स्क्वायर क्षेत्रमा कैयौँ क्षेप्यास्त्र प्रहार भएको र आकाशमा धुवाँको मुस्लो उठेको तस्बिरहरू सार्वजनिक भएका छन्।
इरानको राज्य समर्थित फार्स न्यूज एजेन्सीले उत्तरी र पूर्वी भागमा समेत थप विस्फोटका आवाज सुनिएको जनाएको छ। घटनासँगै इजरायलले इरानमाथि ‘प्रि-एम्प्टिभ’ (अग्रिम) आक्रमण सुरु गरेको घोषणा गरेको छ।
इजरायली रक्षामन्त्री इस्रायल काट्जले राष्ट्रविरुद्धको खतरालाई निस्तेज पार्न यो कदम चालिएको बताए। आक्रमणसँगै इजरायलभर ‘विशेष र स्थायी आपतकालीन अवस्था’ लागू गरिएको छ।
इरानले पनि जवाफी क्षेप्यास्त्र प्रहार गर्न सक्ने चेतावनी दिइसकेको छ। यो सैन्य टकराव अमेरिका र इरानबीच कूटनीतिक वार्ताका प्रयासकै बीच भएको बीबीसीले जनाएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम आफ्नो देशका लागि ठूलो खतरा रहेको भन्दै कुनै पनि सम्झौता स्वीकार नगर्ने चेतावनी दिइसकेका छन्।
गत जुन महिनामा पनि इजरायलले इरानमाथि आक्रमण गर्दा ‘१२ दिने युद्ध’ सुरु भएको थियो। अहिले फेरि सुरु भएको आक्रमणले मध्यपूर्वमा ठूलो युद्धको खतरा बढाएको विश्लेषकहरूले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस