काठमाडौं,२४ फागुन । नेपाली फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा तालाबन्दी गरेको छ।
आइतबार खेलाडी संघले आफ्ना मागहरू एन्फाले बेवास्ता गरेको आरोप लगाउँदै एन्फा मुख्यालयमा तालाबन्दी गरेको हो। तालाबन्दीका क्रममा संघको अगुवाइमा एन्फा प्रांगण पुगेका खेलाडीहरूले विरोध प्रदर्शनसमेत गरेका थिए।
खेलाडी संघले तीनबुँदे माग अघि सारेको छ। पहिलो, एन्फाले आफूले वाचा गरेको मितिभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनको सुनिश्चितता गर्दै शीर्ष डिभिजन लिगको मिति तोक्नुपर्ने माग गरिएको छ।
त्यसैगरी, संघले गत वर्ष एकै प्रतियोगिताबाट जम्मा हुनुपर्ने ६५ लाख रुपैयाँसहित खेलाडी अक्षय कोषको विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने माग राखेको छ।
अर्को मागमा खेलाडीहरूको तलब, भत्ता तथा पुरस्कार रकम उपलब्ध गराउनुपर्ने विषय समेटिएको छ। संघका अनुसार सन् २०१७ देखि बाँकी रहेको पुरस्कार तथा नियमित तलब–भत्ता उपलब्ध गराउनुपर्ने मागसमेत गरिएको छ।
संघले यी मागहरू कार्यान्वयन नभएसम्म सहमतिबिना ताला खोले त्यसबाट उत्पन्न हुने क्षतिको जिम्मेवारी एन्फा आफैंले लिनुपर्ने चेतावनी दिएको छ।
प्रतिक्रिया दिनुहोस