काठमाडौं,१६चैत । शिक्षा मन्त्रालयले ब्रिज कोर्ससम्बन्धी आफ्नो निर्णय २४ घन्टा नबित्दै संशोधन गरेको छ।
शिक्षामन्त्री सस्मित पोखरेलले एसइई दिएका विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुँदै आएका ब्रिज कोर्स तथा तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको बताएका छन्।
मन्त्रालयले आइतबार विद्यालय तहदेखि उच्च शिक्षासम्मका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णय सार्वजनिक गरेको थियो।
तर सम्बन्धित व्यवसायीहरूको विरोधपछि उक्त सूचना मन्त्रालयको वेबसाइटबाट हटाइएको हो।
मन्त्री पोखरेलका अनुसार एसइई दिएका विद्यार्थीलाई अनावश्यक प्रतिस्पर्धा र दबाबबाट जोगाउन यस्तो निर्णय गरिएको हो।
‘ब्रिज कोर्सले विद्यार्थीलाई तानातान गर्ने भएकाले तत्काल रोक्ने निर्णय गरेका हौं,’ उनले भने।
सरकारले वैशाख १ देखि यस्ता कक्षा सञ्चालनमा रोक लगाउने जनाएको छ।
साथै, एसइईभन्दा माथिका कोचिङ तथा ट्युसन सेन्टरलाई कानुनअनुसार नियमन गरिने पनि मन्त्रालयले जनाएको छ।
सरोकारवालासँग पर्याप्त परामर्श नगरी निर्णय गर्ने र पछि सच्याउने सरकारी प्रवृत्ति यसपटक पनि दोहोरिएको टिप्पणी गरिएको छ।
प्रतिक्रिया दिनुहोस