काठमाडौ,३० चैत । ठगी तथा सङ्गठित अपराध मुद्दाका प्रतिवादी रवि लामिछानेलाई चितवन जिल्ला अदालतले वारेस नियुक्त गर्ने अनुमति दिएको छ। सोमबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो। अदालतको आदेशसँगै अब लामिछानेले आफ्नो तर्फबाट प्रतिनिधि पठाएर कानुनी प्रक्रिया अगाडि बढाउन पाउने भएका छन्।
लामिछानेले स्वास्थ्य समस्या र कार्यव्यस्तताका कारण नियमित रूपमा तारेखमा उपस्थित हुन नसक्ने जनाउँदै वारेस नियुक्त गर्न अनुमति मागेका थिए। उनको पक्षबाट अधिवक्ता रामचन्द्र देवकोटाले बहस गर्दै स्वास्थ्य अवस्था र मुद्दाको प्रकृतिलाई ध्यानमा राखी वारेसको सुविधा दिनुपर्ने तर्क प्रस्तुत गरेका थिए।
अदालतले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल को स्वास्थ्य परीक्षण प्रतिवेदनलाई आधार मानेको छ, जसमा लामिछानेको प्रोस्टेटमा समस्या रहेको उल्लेख गरिएको छ। साथै, उनले ५४ लाख रुपैयाँ धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर तारेखमा रहेको र मुद्दा मिलापत्र हुन सक्ने प्रकृतिको भएको पनि आदेशमा उल्लेख गरिएको छ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९५ ९२० बमोजिम दिइएको यस अनुमतिपछि अब लामिछानेले आफ्नो प्रतिनिधिमार्फत अदालतमा उपस्थित हुन पाउनेछन्। यद्यपि, उनी सोमबार भने तारेखका लागि स्वयं चितवन जिल्ला अदालत मा उपस्थित भएका थिए। कानुन व्यवसायीहरूले अदालतको निर्णयलाई कानुनी प्रक्रिया सहज बनाउने कदमका रूपमा लिएका छन् भने केहीले स्वास्थ्य अवस्थाका आधारमा दिइएको यो सुविधा उपयुक्त रहेको प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया दिनुहोस