काठमाडौ,५ वैशाख । इरानले महत्वपूर्ण समुद्री मार्ग होर्मुज स्ट्रेट पुनः बन्द गरेको घोषणा गरेको छ। इरानले अमेरिकी नाकाबन्दी जारी रहेको र वार्ताका सर्तहरू उल्लंघन भएको आरोप लगाउँदै उक्त जलमार्गमा सैन्य नियन्त्रण कायम गरेको हो।
इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले जारी गरेको विज्ञप्तिअनुसार अब होर्मुज स्ट्रेट पूर्ण रूपमा इरानी सेनाको नियन्त्रणमा रहनेछ र जहाजहरूको आवतजावत रोकिएको छ।
इरानी पक्षका अनुसार अमेरिकाले आफ्ना बन्दरगाहमा नाकाबन्दी जारी राख्दै सहमतिविपरीत जहाजहरू रोकेको आरोप छ। केही समयका लागि जलमार्ग खुला गरिए पनि प्रतिबन्ध नहटेपछि इरानले पुनः कडा कदम चालेको जनाएको छ।
इरानले अमेरिकाले लगाएको प्रतिबन्ध नहटाएसम्म कुनै पनि जहाजलाई होर्मुज स्ट्रेटबाट आवतजावत गर्न नदिने स्पष्ट पारेको छ। विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने यो मार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला प्रभावित हुन सक्ने चिन्ता बढेको छ।
यता डोनाल्ड ट्रम्पले इरानमाथिको नाकाबन्दी तत्काल नहट्ने अडान दोहोर्याएका छन्। उनले इरानसँग नयाँ सम्झौता नभएसम्म प्रतिबन्ध कायम रहने बताउँदै ‘इनरिच्ड युरेनियम’ सम्बन्धी विषयमा कडा चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरिरहेको छ भने विश्लेषकहरूले बढ्दो तनावले क्षेत्रीय सुरक्षा र विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस